PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

नेविसंघ महाधिवेशन : प्रतिनिधि छानबिनमा देउवा पक्ष सहमत, मनोनयन साँझ ६ बजेसम्म



रमेश वाग्ले

नेविसंघ महाधिवेशन : प्रतिनिधि छानबिनमा देउवा पक्ष सहमत, मनोनयन साँझ ६ बजेसम्म

काठमाडौं : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको विवाद समाधान नजिक पुगेको छ।
 
पार्टीको निर्देशन समितिका संयोजकले एकपक्षीय रुपमा तीन सय प्रतिनिधि थपिएको भन्दै पौडेल निकटका विद्यार्थीहरु आन्दोलित भएका थिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको आन्दोलनमा प्रहरीसँग झडप हुँदा घाइते विद्यार्थीको उपचार भइरहेको छ।
 
आन्दोलनकारीमाथि लाठीचार्जमा उत्रिएको प्रहरीले फोटो खिचेको भन्दै पत्रकारमाथि समेत आक्रमण गरेको थियो। आक्रमणलगत्तै वरिष्ठ नेता पौडेलले विज्ञप्ति जारी गरेर अधिवेशन शान्तिपूर्ण बनाउनुको सट्टा दमनको नीति लिएको भन्दै विरोध जनाएका थिए।
 
उनको विरोधपछि देउवाले मिलाएर जान आग्रह गर्दै आजै बिहान पौडेल पक्षबाट निर्देशन समितिका सदसस्यहरु गोविन्द भट्टराई र गुरुराज घिमिरे तथा नेविसंघ अध्यक्ष रञ्जित कर्णलाई निवासमै बोलाएर छलफल गरेका थिए। छलफलमा निर्देशक समितिका सदस्यद्वयले निर्देशक समिति दुई पक्षको भएकाले संयोजकले मात्र हस्ताक्षर गरेर गल्ती गरेको, सिफारिस गरिएभन्दा फरक नामहरु अन्तिम नामावलीमा प्रकाशित भएको भन्दै त्यसलाई छानबिन गरी सच्याउन प्रस्ताव गरेका थिए। 

आजै बिहान पौडेल निवास बोहोराटारमा पौडेलसहित बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्र बडुसहितका नेता बसेर विवाद सुल्झाउने विषयमा छलफल गरेका थिए। त्यसलगत्तै पौडेल र देउवाबीच फोनमा कुराकानी भएको थियो। फोनमै  देउवाले तीन सय प्रतिनिधि घटाएर ३४ सय ६० मै चुनाव गराउन आफू तयार रहेको बताएका थिए। देउवा सहमतिको पक्षमा रहेपछि पौडेल पक्षका निर्देशन समितिका सदस्य र नेविसंघ अध्यक्ष देउवा निवास पुगेका थिए।

‘छुटेका नाम समेट्ने र दुवै पक्षको सहमतिमा प्रतिनिधि टुंग्याएर चुनावमा जाने समझदारी भएको छ,’ बुढानिलकण्ठबाट फर्किएपछि निर्देशन समितिका सदस्य गोविन्द भट्टराईले भने, ‘अब चुनावमा जानका लागि निर्वाचन कार्यतालिका पनि सच्याइएको छ।’ उनले नामावली सच्याएर अघि बढ्नकै लागि मनोनयन दर्ताको समय साँझ ६ बजे सम्मलाई तन्काइएको बताए। निर्वाचत समितिले उम्मेद्वारको मनोनयन दर्ताको समय बिहान ८ बजे देखि ११ बजेसम्मका लागि राखेको थियो।
 

आज पनि प्रदर्शन

नामावलीका विषयमा विरोध जनाउँदै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आज पनि सानेपा क्षेत्रका प्रदर्शन गरेका छन्।

उनीहरुले ६५ जिल्लाको प्रतिनिधि संख्या २३ सय मात्र भएको भन्दै ३७ सय बनाउनुमा नेविसंघ नेतृत्वदेखि पार्टीको निर्देशन समिति पनि नराम्ररी चुकेको बताएका छन्।
 
‘नेविसंघमा ६५ जिल्लाको अधिवेशनपछिको प्रतिनिधि संख्या २३ सय हो, त्यसलाई अनसनकारीको माग सम्बोधनकै लागि बढाउँदै जाँदा ३४ सय ६० पुर्‍याएको जानकारी पाएका थियौं,’ अध्यक्षमा उम्मेद्वारी सार्वजनिक गरेका निलकण्ठ रिजालले भने, ‘त्यो संख्यामा पनि निर्देशन समितिका संयोजकले मात्र नाम थपेर ३७ सय ६० पुर्‍याउनुभएको छ। यस्तो अवस्थामा कसरी निष्पक्ष चुनाव हुन्छ भनेर हामीले मान्ने?’ उनले फर्जी प्रतिनिधिका कारण महाधिवेशनको ओचित्य घटेकाले छानबिन बिना अधिवेशनमा सहभागिताको औचित्य नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell