काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रक्रिया पूरा गरी आउने लाभग्राहीको खातामा असोज २ गतेभित्र पहिलो किस्ताको रकम जम्मा गर्ने भएको छ।
प्राधिकरणको काम र योजनाबारे जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्तामा ५० हजार नै उपलब्ध गराइने बताए।
यसअघि पहिलो किस्ताको रकम पाउने घरधनीको संख्या ४९ हजार ७ सय ४९ रहेको छ। आज १२ बजेसम्मको अवधिमा भूकम्प प्रभावित जिल्लाका ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता भइसकेको ज्ञवालीले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्प प्रभावित ३१ जिल्लाका ५ लाख ३३ हजार परिवारलाई ४५ दिनभित्र पहिलो किस्ता उपलब्ध गराई राहत र पुनर्निर्माणलाई तीव्रता दिने निर्णय गरेको थियो। सरकारको तदारुकताका कारण पनि विशेष योजना ल्याएको बताउँदै ज्ञवालीले एक महिने अभियानबारे प्रस्ट पारेका थिए।
एक महिने अभियानमा के छ?
प्राधिकरणले पुनर्निर्माणलाई तीव्रता दिन एक महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ।११ जिल्लामा लागू हुने अभियानमा ७ वटा कामलाई मुख्य रुपमा अघि बढाइने प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए।
यस्ता रहनेछन् ७ मुख्य काम-
- अनुदान सम्झौता भएका घरधनीहरुको बैंक खातामा पहिलो किस्ताको रकम जम्मा गर्ने।
- पहिचान भएका लाभग्राहीसँग सम्झौता गरी काम सम्पन्न गर्ने।
- भूकम्पपीडितहरुबाट आएका गुनासोको सुनुवाइ गर्ने।
- सार्वजनिक बिदाको समयमा पनि प्राधिकरणले काम-कारबाहीलाई सञ्चालन गर्ने।
- उपक्षेत्रीय कार्यालयहरुमा रहेका जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गर्ने।
- सबैतिरका कर्मचारीको घुम्ती टोली तयार गरी जिल्ला-जिल्लामा खटाउने।
- केन्द्रमा कार्यकारी अधिकृतको नेतृत्वमा सम्बद्ध मन्त्रालयका सचिव रहने गरी केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख समेत रहनेगरी अनुगमन समिति बनाउने।