PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

सेनाको कल्याणकारी खातामा दुई अर्ब ७१ करोड थपियो



रासस

  • नारायण न्यौपाने -
काठमाडौँ : नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम रु ३३ अर्ब छ करोड पुगेको छ।
 
अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम रु ३० अर्ब ३४ करोड ६६ लाख थियो। एक वर्षको अवधिमा कोषको मौज्दातमा झन्डै रु दुई अर्ब  ७१ करोड वृद्धि भएको छ। सैनिक कल्याणकारी कोषका अनुसार बैंक मौज्दात र लगानीसमेत गरी रु ३७ अर्बको हाराहारीमा यथार्थ मौज्दात पुगेको छ।
 
लेखा परीक्षण गर्नुअघि गएको असार मसान्तसम्ममा उक्त कोषमा यथार्थ मौज्दात रु ३६ अर्ब ५३ करोड ९७ लाख ५५ हजार  थियो। सैनिक कल्याणकारी कोषको रकम नेपाली सेनाको बहालवाला तथा भूपूको स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा बिमाजस्ता कल्याणकारी कार्यमा खर्च हुँदै आएको छ।
 
कल्याणकारी कोषअन्तर्गत हाल आठ महाविद्यालय, मेडिकल र नर्सिङ कलेज सञ्चालनमा छन् भने पोलिटेक्निक इन्स्टिच्युट पनि सञ्चालनको तरखरमा रहेको छ। कोषबाट बहालवाला तथा भूपूको औषधोपचार, बिमा, आवास, निवृत्तिभरणलगायत शैक्षिक संस्था सञ्चालन गर्न वार्षिक रु दुई अर्ब ५० करोड खर्च हुने गरेको छ। आम्दानी भने वार्षिक रुपमा रु दुई अर्ब ७५ करोडको हाराहारीमा हुँदै आएको छ।
 
सैनिक कल्याणकारी कोषको रकम ‘क’ वर्गका २९ वटा बैंक तथा वित्तीय संस्थानमा रहेको सहायकरथी गौरव तण्डुकले जानकारी दिए। नेपाली सेना शान्तिस्थापनार्थ कार्यका लागि संयुक्त राष्ट्रसङ्घमा सहभागी भएबापत प्राप्त करिब रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना भएको थियो।
 
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा संस्थामा रहेको रु ८२ करोड निक्षेपमध्ये अब साँवा रु २७ करोड ४९ लाख  असुलउपर गर्न बाँकी रहेको बताइएको छ। शान्तिसेनामा भाग लिएबापत प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमको ब्याज, विद्यार्थीको शुल्क, परिवार आवास भाडा, विदेशी मुद्रा सटही प्रिमियम, पेट्रोल पम्पबाट प्राप्त हुने सहयोग, वीरेन्द्र सैनिक र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त हुने शुल्क कोषको नियमित आयस्रोत हुन्।
 
नेपाली सेनाले उक्त कोषबाट भूकम्पपीडित बहालवाला तथा भूपू गरी ४२ हजार ६२१ घरपरिवारलाई रु दुई अर्ब ४९ करोडभन्दा बढी राहत रकम वितरण गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell