PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

१५ सय वर्षअघिको कथामा बन्ने भो फिल्म- 'सलहेसः द पिपुल्स हिरो'



पहिलोपोस्ट

१५ सय वर्षअघिको कथामा बन्ने भो फिल्म- 'सलहेसः द पिपुल्स हिरो'

काठमाडौं : १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रममा मिथिलाका राजा सलहेसको कथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक फिल्म निर्माणको घोषणा गरिएको हो।
 
पाचौं, छैटौ शताब्दीतिर मिथिलामा राजा बनेका सलहेसको चर्चा मैथिली समुदायमा अझै पनि हुने गर्छ। लोककल्याणमा सक्रिय रहेका कारण सम्मानित तिनै व्यक्तिमाथि फिल्म बन्ने भएको हो। प्रेम, सद्भाव, प्रकृतिका प्रतीक पनि हुन् यी राजा। मिथिलामा अन्याय, अत्याचार र अराजकताका विरुद्ध लडेकाले उनलाई अहिलेसम्म स्मरण गरिएको हो। तिनै राजाको नाममा सिरहाको लहानमा 'सलहेस फूलबारी' पनि छ। यो फूलबारीमा राजा सलहेस फूल टिप्न जान्थे भन्ने किवंदन्ती छ। सलहेसलाई उनकी प्रेमिका कुशमा मालिनले हरेक दिन त्यहाँ फूलको माला अर्पण गर्थिन्। प्रेमको प्रतीकका रुपमा आज पनि त्यहाँ फूल फुल्ने गरेको विश्वास गरिन्छ।
 
फिल्मलाई भोर कम्पनीले प्रस्तुत गर्न लागेको हो।
 
तराईको दुसाध समुदायले भगवानका रुपमा पूजा गर्ने सलहेस बारेको सात वर्षको अध्ययनपछि फिल्म बनाउन लागिएको निर्माता राजकुमार महतोले बताए।
 
फिल्मलाई अमितेश साहले निर्देशन गर्न लागेका हुन्। 'मिथिला संस्कृतिको इतिहास आफैंमा धनी भए पनि आजसम्म प्रचारका लागि कुनै मनोरन्जनात्मक प्रस्तुति थिएनन्,' उनले भने, 'त्यही अभाव पूर्ति गर्न फिल्म ल्याउन लागेका हौं।'
 
साहको यो पहिलो फिचर फिल्म हुनेछ। भारतको दिल्लीस्थित एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका साह सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन्। ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका उनले सर्ट फिल्म ‘कमला’ पनि बनाएका छन्। यो फिल्मले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड समेत जितेको छ।
 
फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, चितवन र भारतका विभिन्न स्थानमा हुने उनले जानकारी दिए । ‘हामी करिब ६ महिना प्रि–प्रडक्सनमा व्यस्त हुनेछौं,’ निर्देशक साहले भने, ‘त्यसपछि मात्र फिल्मको सुटिङ थाल्नेछौं। एक वर्षभित्रमा रिलिज गरिसक्ने योजना छ।’
 
फिल्ममा सलहेस, रेशमा, कुसमा र दौना, चूहडमल, चन्द्रावती, करिकन्हा, मोतीराम, बुधेसर, सुगाहिरामन जस्ता पात्र रहने भए पनि अहिलेसम्म कलाकार चयन भएका छैनन्। निर्देशकका अनुसार अडिसन मार्फत कलाकार चयन गरिनेछ। 
 
'फिल्मको अनुमानित बजेट तीन करोडजति हो,' निर्माता महतोले भने, 'फजुल खर्च गर्दैनौं तर गर्नुपर्ने ठाउँमा कन्जुस्याइँ हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell