काठमाडौँ : नेविसंघको ११ औँ महाधिवेशनको हिजै सुरु हुनुपर्ने निर्वाचन प्रक्रिया फर्जी महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गरियो भन्दै हिजो रामचन्द्र पौडेल पक्षका विद्यार्थीहरुले विरोध गरे। विरोधका क्रममा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी मात्रै हैन, पत्रकार पनि घाइते भए।
पार्टीको निर्देशन समितिका संयोजकले एकपक्षीय रुपमा तीन सय प्रतिनिधि थपिएको भन्दै पौडेल निकटका विद्यार्थीहरु आन्दोलित भएका थिए।
विरोधपछि देउवाले मिलाएर जान आग्रह गर्दै आजै बिहान पौडेल पक्षबाट निर्देशन समितिका सदसस्यहरु गोविन्द भट्टराई र गुरुराज घिमिरे तथा नेविसंघ अध्यक्ष रञ्जित कर्णलाई निवासमै बोलाएर छलफल गरे। त्यसपछि ६४ जिल्लाकै महाधिवेशन प्रतिनिधिहरुको नाम रुजु गर्न थालियो।
त्यसपछि बल्ल थाहा भयो, तीन सय जनाको विवाद त गन्न बिर्सँदाको बित्थाको विवाद पो रहेछ। केन्द्रीय समितिमा रहेका १२१ जना स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान बिर्सिएको रहेछ। त्यसैगरी काठमाडौँका निजी क्याम्पसलाई पाँच प्रतिशत प्रतिनिधि दिने सहमति भएको थियो। यो सब जोड्दा विवादमा परेको भनिएको करिब ३ सय प्रतिनिधिको हिसाब सजिलै निस्कियो।
अब पहिले नै सिफारिश भएकाबाहेक कसैको नाम परेको भए एक दुई जनाको नाम हट्नु बाहेक विवाद सजिलै मिल्ने देखिएको छ।
उम्मेदवारी दर्ता सुरु
यसैबीच आज साँझ ६ बजेसम्म नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता खुला गरिएको छ। सबैभन्दा पहिले खुमबहादुर खड्कापक्षीय विद्यार्थी नेता शुभराम बस्नेतले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।त्यसैगरी दोस्रो नम्बरमा लक्ष्मण आचार्य र तेस्रोमा नवीन सिंह ठकुरी अनि चौथोमा बच्चन कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
पौडेल र देउवापक्षीय उम्मेदवारले भने दिउँसो साढे ३ बजेसम्म उम्मेदवारी दर्ता गराएका छैनन्।