काठमाडौँ : सभामुख ओनसरी घर्तीले सार्वजनिक महत्वको विषय माथिको छलफलका विषय टुङ्गो लगाउन छनौट समिति बनाउने भएकी छिन्। घर्तीले संसदमा प्रस्तुत भएका सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा समितिले टुङ्गो लगाउने बताइन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने विषयमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमा चर्चा चुलिएपछि घर्तीले छलफलको टुङ्गो लगाउन समिति गठन गर्न लागेकी हुन्।
'भोलि नै म समितिको टुङ्गो लगाउँछु', सोमबार पत्रकारसँगको कुराकानीमा उनले भनिन्। संसदमा अहिले पाँच वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव छन्। जसमा एनसेलको पुँजीगत लाभकर उठाउने र डा. गोविन्द केसीको जीवन रक्षा सम्बन्धी दुई प्रस्ताव कांग्रेस सांसद गगन थापाले प्रस्तुत गरेका हुन्। केसीको जीवनरक्षा प्रस्तावमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने विषय प्रवेश गराइएको थियो।
बाँकी तीन प्रस्ताव भने नेपाल मजदुर किसान पार्टीका हुन्। ख्वप विश्वविद्यालय, भारतीय बाँधले नेपाली भूभाग डुबानमा परेको तथा विद्यालय शिक्षा निःशुल्क बनाउनुपर्ने विषयमा नेमकिपाका सांसदले प्रस्ताव दर्ता गरेका हुन्। जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्न प्रस्तावकले दुई समर्थकको समेत व्यवस्था गर्नुपर्ने हुन्छ।
'सार्वजनिक महत्वको प्रस्ताव सांसदले सस्तो लोकप्रियताका लागि ल्याउनुहुन्न, त्यही भएर छनौट समिति बनाउन लागेको हो', घर्तीले भनिन्, 'ल्याएपछि छलफल गराउनुपर्छ भन्ने मेरो मान्यता छ।'