
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि गर्ने व्यापारीविरुद्ध र्यापिड एक्सन प्लानमा कार्वाही गर्न निर्देशन दिएका छन्।
सोमबार प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति लगायतका मन्त्रालयका सचिवहरुको संयुक्त बैठकको आयोजना गरी प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले भने, ‘महंगी, कालोबजारी र कृत्रिम अभावले उपभोक्ता आक्रान्त छन्, उनीहरुलाई देशमा सरकार छ भन्ने कुराको अनुभूति दिलाउनु हाम्रो कर्तव्य हो। तसर्थ, तपाईँहरु कालोबजारी, कृत्रिम अभाव र महँगी गर्नेहरुविरुद्ध र्यापिड एक्सन प्लानमा गएर कार्वाही गर्नुस्।’
प्रधानमन्त्रीले युनिफाइड र सेन्ट्रल कमाण्डमार्फत् तत्काल परिणाम आउने गरी काम गर्न नेपाल सरकारका सचिव र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले भने, ‘एकीकृत कमाण्ड चाहिन्छ, यसबारे हामी छिटै निर्णय गर्छौं। तर, तत्काल भइरहेका संयन्त्रहरुको चुस्त परिचालन गरेर नजिता निकाल्नुस्।’
प्रधानमन्त्रीले बजारमाथि बेथिति निम्त्याउनेहरु विरुद्ध त्रासको वातावरण सिर्जना गरी जनतालाई राहतको अनुभूति दिन पनि निर्देशन दिए। बैठकमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहरा, विभिन्न मन्त्रालयका सचिवहरुले बजार अनुगमन प्रभावकारी बनाएर जनतालाई राहत दिने प्रतिवद्धता व्यक्त गरेका थिए।