
काठमाडौं : सिनामंगलका १८ वर्षीय विवेक खड्का र थापाथलीकी २१ वर्षीया रोनाली अमात्य मोडल हन्ट नेपाल-२०१६ को उपाधि चुम्न सफल भएका छन्।
राजधानीको आर्मी अफिसर्स क्लबमा शनिबार साँझ सम्पन्न अन्तिम स्पर्धामा विवेकले पुरुषतर्फको र रोनालीले महिलातर्फको उपाधि जितेका हुन्।
६ फिट एक इन्च उचाइका विवेकले ३४ र ५ फिट ३ इन्च हाइटकी रोनालीले २५ स्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। रोनालीले शीर्ष उपाधिका साथमा बेस्ट पर्सनालिटी उपाधि समेत आफ्नो पोल्टामा पारिन्।
दुवै विजेताले फिल्म र म्युजिक भिडियो अभिनयको अवसरका साथै विभिन्न उपहार पाउनेछन्। मानेड हन्ट नेपालले उनीहरुलाई एक वर्षका लागि एम्बासडर समेत बनाएका छन्।
मोडलिङ पेसालाई व्यावसायिक र मर्यादित बनाउन तथा नयाँ आयामको सुरुवात गर्ने उदेश्यले गत वर्षदेखि प्रतियोगिता सुरु गरिएको आयोजक नेष्ट मोडल्स् नेपालका अध्यक्ष रवि धमलाले बताए।
पूर्व मिस नेपाल उषा खड्गी, चर्चित फोटोग्राफर राजभाइ सुवाल, विश्वचर्चित फेसन डिजाइनर स्टेला मेरिस हाफेले, पूर्व म्यान हन्ट तथा अभिनेता निर्जन थापा लगायत निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी रोजित शाक्यले गरेका थिए।
नेपाली युवायुवतीको प्रतिभा पहिचान गरी अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि यस्तो प्रतियोगिता गरिएको आयोजक नेष्ट मोडल्स् नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन्।
कार्यक्रममा उठेको केही रकम भक्तपुरमा रहेको सिर्जनशील बालकल्याण केन्द्रकी अध्यक्ष उमादेवी बस्नेतलाई प्रदान गरिएको थियो।