PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

​सांसद ६ सय जना, खाना खाएको बिल तिरियो एकै दिन ३ हजार ७ सय जनाको



मनोज सत्याल

​सांसद ६ सय जना, खाना खाएको बिल तिरियो एकै दिन ३ हजार ७ सय जनाको

काठमाडौँ : ६ सय सांसद भएको संसदमा एकै दिन ३७ सय जनाले खाना खाएको कुपन सचिवालयले काटेको भेटिएको छ। यसबारे जानकारी पाएपछि सभामुख ओनसरी घर्ती अहिले संसद सुधारमा लागेकी छिन्। 

कतिपय दिन ३२ सय त कतिपय दिन २ हजारभन्दा माथिले खाना खाएको बिल संसद सचिवालयले तिरेको देखिएपछि उनी कुपन सिस्टम हटाउने निर्णयमा पुगेकी हुन्। 

'प्रमुख सचेतकहरुसँग पनि छलफल गरेँ। अब सांसदहरुले कुपन लिनुपर्दैन, भत्तामार्फत् ४ सय पाउँछन् र आफूलाई मन लागेको स्थानमा गएर खाना खान पाउँछन्', उनले भनिन्। सभामुख घर्तीले भने कुपन सिस्टम हटाउनुको पछाडि सांसदहरुले संसद सचिवालयको क्यान्टिनको खानामा गुणस्तरमा उठाएको प्रश्न कारक रहेको बताइन्। 

अब सांसदहरुले संसद बैठक र समिति बैठकहरुमा सहभागी भएको दिन ४ सय भत्ता पाउनेछन्। संसद बैठक साँझ सञ्चालन भएको दिन सात बजेपछि थप ४ सय भत्ता पाउनेछन्। संसद सचिवालयका कर्मचारीले भने दैनिक ६ सय खाजा भत्ता पाउने गरेका छन्।

सभामुख घर्तीले यसअघि कर्मचारीहरुलाई बिदाको दिन आएर काम नगर्न सुझाएकी थिइन्। बिदाको दिन आएर हाजिर गर्ने र काम नगर्ने प्रचलन बढेको देखिएको भन्दै रोक्ने प्रयास आफूले गरेको घर्तीले बताइन्। बिदाको दिनमा काम नगर्न दिएको सुझावकै कारण यस्तो दिन राज्य कोषको तीन चार लाख बचत भएको उनको भनाई छ।

घर्तीले मंगलबार नै आफूले संसदका विभिन्न समितिका सभापतिहरुसँग कुराकानी गरेर समितिका बैठकहरुको खर्चको कटौतीबारे छलफल गर्न लागेको उल्लेख गरिन्। 'चिया पकाउने मेसिन राख्दाे उचित हुन्छ कि सानो टिममा मानिस राखेर चिया सर्भ गर्ने भन्नेबारे छलफल गर्न लागेकी हुँ', उनले भनिन्। 

सभामुख घर्तीले आफूले संसद बैठकसमेत समयमै सुचारु गर्ने र बोल्ने सांसदहरुको माइक अटोकटको व्यवस्था गरेको उल्लेख गर्दै विस्तारै संसदीय परिपाटीलाई व्यवस्थित बनाउँदै लगेको उल्लेख गरिन्। 

केही समयअघि बेलायत भ्रमणबाट फर्किएकी सभामुख घर्तीले नेपालले बेलायती परम्परालाई आधार मान्ने गरेको देखेकै कारण थप सुधारको प्रयास भइरहेको बताइन्। 'अब संसद एक हप्ता लगातार चलाउने र एक हप्ता स्थगित गर्ने परम्परा राख्नुपर्छ भनेर लागेकी छु', घर्तीले भनिन्, 'यसले संसद बैठकका बेला कुर्सी खाली हुँदैनन् र सांसदहरुलाई पनि समितिहरुको बैठकमा ध्यान दिन तथा जिल्ला जान समय हुन्छ।'

प्रत्यक्ष सवाल जवाफ

संसदको नियमावलीले सांसदहरुले मन्त्रीहरुलाई तथा प्रधानमन्त्रीलाई प्रत्यक्ष सवाल जवाफ गर्न सक्ने व्यवस्था गरेको छ। 'मैले पहिला केपी शर्मा ओलीलाई प्रधानमन्त्री भएका बेला यस्तो बैठकबारे भनेकी थिएँ। उहाँ तयार हुनुहुन्थ्यो। अब नयाँ प्रधानमन्त्री आउनु भएको छ। उहाँसँग पनि यस्तो कुराकानी गर्छु', उनले भनिन्। 

उनले आफूले बेलायत भ्रमणका बेला त्यहाँको संसदमा भएको प्रत्यक्ष सवाल जवाफ नियाल्न पाएको बताइन्। 'नियमावलीको व्यवस्था अनुसार गर्दा सांसदहरुले सिधा प्रश्न पाउँछन्। विषय पहिला नै सांसद र प्रधानमन्त्री/मन्त्रीलाइ जानकारी गराउने हुँदा प्रभावकारी पनि हुने रहेछ', उनले भनिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell