
डिएगो कास्टाले खेल सकिन एक मिनेटअघि गोल गरेपछि चेल्सीले प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा जित हात पारेको छ।
सोमबार भएको पहिलो चरणको अन्तिम खेलमा चेल्सीले वेष्टहम युनाइटेडलाई २-१ ले पराजित गरेको छ।
इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेलाई प्रिमियर लिगको डेब्यु खेलमा सुखद सुरुवात दिलाउने क्रममा कोस्टासँगै एडेन हाजार्डले गोल गरे।
चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा तीन वटै गोल दोस्रो हाफमा भएको हो।
खेलको ४७ औं मिनेटमा प्राप्त पेनाल्टीमा एडेन हाजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। वेष्टहमले ७७ औं मिनेटमा बराबरी गोल फर्कायो। वेष्टहमका लागि जेम्स कोलिन्सले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याएका थिए।
तर ८९ औं मिनेटमा कोस्टाले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए। जितसँगै चेल्सीले ३ अंक जोडेको छ।