काठमाडौं : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सकारात्मक र समाजलाई अभिप्रेरित गर्ने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीसँग आग्रह गरेका छन्।
नेपाल पत्रकार महासङ्घले गरेको शुभकामना कार्यक्रममा मन्त्री कार्कीले समाजमा सबै खराब काम मात्र नभएकाले राम्रा कामबारे पनि खोजी गरेर समाचार लेख्न आग्रह गरे।
'पत्रकार आफ्नो पेसामा कुनै पनि विचार र आस्थाबाट प्रभावित हुन हुन्न,' उनले भने, 'पत्रकारिता मर्यादित पेसा भएकाले यो गम्भीर हुनैपर्छ।'
श्रमजीवी पत्रकारले न्युनतम पारिश्रमिक पाउनुपर्ने बताउँदै उनले सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले महासङ्घको सक्रियतामा ज्येष्ठ पत्रकारलाई मासिक एक हजार प्रदान गर्ने, पत्रकार परिवारलाई शैक्षिक सन्तति वृत्ति, स्वास्थ्य बिमालगायत महत्वपूर्ण कार्यक्रम अघि बढेको बताए।
महासङ्घका महासचिव उजिर मगरले सरकारले हालै घोषणा गरेको न्युनतम पारिश्रमिक कडाइका साथ लागू हुनुपर्ने भन्दै श्रमजीवीका पक्षमा उभिन मन्त्री कार्कीसँग आग्रह गरेका थिए।