- कृष्ण दर्नाल
राणाकालीन समयमा पश्चिमी कलाकौशल प्रयोग गरी निर्माण गरिएको सुन्दर धरोहर ऐतिहासिक एवं पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ। पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ मानवीय क्रियाकलापका कारण अहिले अस्तित्व बचाउने चुनौतीमा पुगेको छ।
एक सय २३ वर्ष पुरानो महलमाथिबाट नवलपरासीको गैंडाकोटदेखि तिब्बतको कोरोला नाकासम्मको सडक विस्तार गरिएपछि दायाँ र बायाँ क्षेत्रबाट ठूला पहिरा बारम्बार खस्दा यहाँ पछिल्लो वर्ष उजाडजस्तो बन्न थालेको हो। हराभरा सुन्दर, शान्त एवम् मनोरम रानीमहल दरबार नजिकैबाट पहिरो खस्दा दिनप्रतिदिन जोखिम बढेको छ।
धीरशमशेरका १७ भाइमध्ये पाल्पाका जर्नेल खड्गशमशेरकी रानी तेजकुमारीको १९४९ सालमा पाल्पामै निधन भएपछि उनकै सम्झनामा रानीमहल बनेको हो। महलमाथि सडक विस्तार गर्दा डोजरको प्रयोग गरिएपछि माथिल्लो भाग खस्न सक्ने स्थानीय बासिन्दा प्रेमबहादुर श्रेष्ठले बताए।
भारतको आग्रामा राजा शाहजहाँले आफ्नी रानी मुमताजको स्मृतिमा बनाएको ताजमहलकै प्रतिरुप हेर्न धेरै भारतीय शरद ऋतुमा यहाँ आउँछन्।
'रानीमहलको वरिपरिबाट पहिरो खसिसकेका छ, सडकमाथिको पहिरोले झनै जोखिम देखिन्छ,' श्रेष्ठले भने, 'रानीघाटलाई छलेर दायाँबायाँबाट पहिरो गयो भने मात्रै जोगिएला नत्र रानीमहल सङ्कटमा पर्न सक्छ।'
सडक विस्तारका क्रममा रानीमहलमाथिको सडक कोप्रो पारिएकाले जति बेला पनि त्यो थुम्को खस्न सक्ने स्थानीय ताराबहादुर साठ्ठीघरेले बताए।
करिडोरको सडकको माथिल्लो भागबाट पहिरो खसेपछि रानीमहलको सडक समेत बगेको छ।
ताजमहल दरबार क्षेत्रमा घोडा बाँधिने तबेला, सैनिकले पहरा दिने स्थान, सैनिक तैनाथीस्थल आदि भग्नावशेष मर्मत भएका छन्। खड्गशमशेर नुहाउनका लागि जाने कालीगण्डकी किनारसँगै जोडिएको फलामको बार भएको बाटोको नमुना पर्यटकले हेर्नलायक सम्पदाका रुपमा रहेको छ।
ताजमहल दरबारको पूर्वतर्फको भागमा खड्गशमशेरले पूजा गर्ने पूजाकोठाको नमुना मात्र छ। तीनतले दरबारमा माथिल्लो तला बैठककोठा र बीचमा खड्गशमशेरका कोठीहरुले राणाकालीन कला संस्कृतिको बेजोड नमुना प्रस्तुत गर्छन्।
दरबारको बायाँतर्फ शीतलपाटी र फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी छन्। तेस्रो तहमा दाहिनेतर्फ पाले पहरा बस्ने गृह छ भने खुड्किलाको बायाँतर्फ एकै किसिमका शिवजी र गङ्गाको दुई मन्दिरले धार्मिक पर्यटक आकर्षित हुँदै आएका छन्।
युवा पुस्ताले ताजमहललाई प्रेमको प्रतीकका रुपमा लिन्छन्। प्रणय दिवसका अवसरमा यस क्षेत्रमा हजारौं युवा प्रेमको प्रस्ताव राख्ने गर्छन्। युवा पुस्ता ताजमहलप्रति निकै आकर्षित हुँदै आएको स्थानीय ताराबहादुर श्रेष्ठले बताए। (फोटो पनि राससबाटै)