काठमाडौँ : नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा दुईवटा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। पहिलो एनसेलबाट पुजीँगत लाभकर लिने सम्बन्धमा र दोश्रो डाक्टर गोविन्द केसीको ज्यान रक्षाका सम्बन्धमा। गोविन्द केसीको ज्यान रक्षा सम्बन्धि प्रस्तावमा अनसन बस्दा केसीले उठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा छलफल प्रस्ताव छ।
अब भने यी दुई सार्वजनिक महत्वको प्रस्ताव संसदमा अगाडि बढ्ने छन्। सभामुख ओनसरी घर्तीले दर्ता भएका सार्वजनिक महत्वको प्रस्ताव संसदमा अगाडि बढाउने/नबढाउने विषयमा छनौट गर्न समिति गठन गरेकी छिन्। त्यसो त संसदमा थापाका दुई र नेपाल मजदुर किसान पार्टीका तीन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि छन्। ख्वप विश्वविद्यालय, भारतीय बाँधले नेपाली भूभाग डुबानमा परेको तथा विद्यालय शिक्षा नि:शुल्क बनाउनुपर्ने विषयमा नेमकिपाका सांसदले प्रस्ताव दर्ता गरेका हुन्।
दर्ता भएका प्रस्ताव रोकिएको अपजस खेप्न परेपछि सभामुख ओनसरी घर्तीले छनौट समिति बनाएकी हुन्। जसमा कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामकृष्ण यादव, नेकपा एमालेबाट गोकुल घर्ती र रवीन्द्र अधिकारी, नेकपा माओवादी केन्द्रबाट सीता नेपाली, राप्रपा नेपालबाट कुन्ति कुमारी शाही, संघीय समाजवादी फोरमबाट दिलबहादुर नेपाली, फोरम लोकतान्त्रिकबाट गीता राना क्षेत्री र राप्रपाबाट राज्यलक्ष्मी श्रेष्ठ सदस्य तोकिएका छन्।
घर्तीले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएपछि छलफल हुनुपर्ने आफ्नो मान्यता रहेको बताउँदै आएकी छिन्।
'सार्वजनिक महत्वको प्रस्ताव सांसदले सस्तो लोकप्रियताका लागि ल्याउनुहुन्न, त्यहि भएर छनौट समिति बनाउन लागेको हो', घर्तीले भनिन्, 'ल्याएपछि छलफल गराउनुपर्छ भन्ने मेरो मान्यता छ।'
(संसदको फाइल फोटो)