PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

ओलम्पिकमा तेक्वान्दोकी निशा रावलले शनिबार चिनियाँ खेलाडी शुयीन झेङसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

ओलम्पिकमा तेक्वान्दोकी निशा रावलले शनिबार चिनियाँ खेलाडी शुयीन झेङसँग प्रतिस्पर्धा गर्ने

ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा नेपाली तेक्वान्दो खेलाडी निशा रावलले पहिलो चरणमा चिनिया खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।
 
६७ केजीभन्दा माथि तौल समूहमा निशाले चिनियाँ खेलाडी शुयीन झेङसँग प्रतिस्पर्धा गर्ने भएकी हुन्।
 
कुल १६ खेलाडीको सहभागिता रहने यस उमेर समूहमा निशा र शुयीनबीच राउण्ड अफ १६ को खेल हुनेछ
 
उक्त स्पर्धामा २० वर्षीया निशाले १५ औं वरीयता प्राप्त गरेकी छिन् भने २२ वर्षीया शुयीन दोस्रो वरीयतामा छिन्। पहिलो वरीयतामा भने मेक्सिकन खेलाडी मारिया स्पिनोजा छिन्।
 
वाइल्ड कार्डमार्फत रियो ओलम्पिकमा छनोट भएकी निशा वर्ल्ड तेक्वान्दो फेडेरेशनको वरीयतामा भने २८९ औं स्थानमा छिन्।
 
निशा रियो ओलम्पिकमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने अन्तिम खेलाडी हुन्। त्यसअघि बुधबार एथ्लेटिक्सतर्फ नेपालका हरि रिमालले पुरुष ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षक संगीना वैद्यसँगै निशा शुक्रबार मात्र रियो गएकी हुन्।
 
यसअघि नै नेपालका पाँच खेलाडीको चुनौती समाप्त भइसकेको छ। जसमध्ये पौडीका शिरीष गुरुङ र एथ्लेटिक्सकी सरस्वती भट्टराई रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भए।
 
यस्तै पौडीकै गौरिका सिंह रियो खेलाडीमा सहभागिता जनाउने करिब ११ हजार खेलाडीमध्ये सबै भन्दा कान्छी खेलाडी बनिन्। उनले आफ्नो स्पर्धामा हिट चरणमा पहिलो स्थान हात पारे पनि सेमिफाइनलमा प्रवेश गर्न असफल बनिन्।
 
जुडोका फुपुल्हामु खत्रीले पहिलो चरणको खेलमा क्युबाली खेलाडीसँग पूरै ४ मिनेट भिडे पनि पराजित भइन्। आर्चरीका जितबहादुर मोक्तान भारतका खेलाडीसँग पराजित हुँदै राउण्ड अफ ६४ को राउण्डबाट बाहिरिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell