PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

ह्याप्पी वर्थ डे मनिषा!



पहिलोपोस्ट

ह्याप्पी वर्थ डे मनिषा!

बलिउड हिरोइन मनिषा कोइरालाको आज ४६ औं जन्मदिन। सन् १९७० अगस्ट १६ मा काठमाडौंमा जन्मिएकी उनले १९९० मा चलचित्र सौदागरबाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसअघि नेपाली फिल्म फेरि भेटौलाबाट उनले ठूलो पर्दा प्रवेश गरेकी थिइन्।

बलिउड हिरोइनका रुपमा चिनिए पनि उनले तामिल, तेलेगु, मलाअलम फिल्ममा पनि अभिनय गरेकी छिन्।

केही हिट र केही फल्प फिल्म दिएकी कोइराला अझै पनि फिल्मी क्षेत्रमा सक्रिय छिन्।

सन् १९९६ मा प्रदर्शन भएको फिल्म खामोसिया: द म्युजिकल उनको सबैभन्दा चर्चित फिल्म हो। फिल्ममा उनी नाना पाटेकर र सलमान खानसँग लिड रोलमा छिन्। पाटेकर पिता र सलमान मनिषाको प्रेमीका रुपमा देखिएका छन् फिल्ममा। दिल से उनको अर्को सशक्त भूमिका भएको फिल्म हो जसमा पियरिङ छ शाहरुख खानसँगको। १९९८ मा सार्वजनिक भएको फिल्ममा उनी सशस्त्र द्वन्द्वमा लागेकी युवती हुन्छिन् जसको प्रेममा शाहरुख खानसमेत ज्यान दिन तयार हुन्छन्। सन् २००० मा आमिर खानसँग जोडी बनाएर पर्दामा आइन् मनिषा।

मन फिल्ममा आमिरसँग जोडिएपछि बलिउडका तिनवटै खानसँग जोडी बाध्ने थोरै हिरोइनमा यिनी समेटिइन्। एक पटक एउटा अन्तर्वार्तामा यी तीन खानबारे प्रश्न गर्दा मनिषाले भनेकी थिइन्, ''शाहरुख, सलमान र आमिरले मसँग फिल्म खेले।'

१९९५ मा सार्वजनिक फिल्म अकेले हम अकेले तुम पनि उनको उत्तिकै चर्चित फिल्म हो। १९४२: अ लभ स्टोरी उनको प्रेम कथामा आधारित बलियो फिल्म हो। सौदागर सधै यादगार मानिने फिल्म हो उनको।

क्यान्सरका कारण लामो समय पर्दाबाट टाढै रहिन् उनी। क्यान्सरसँगको युद्धमा विजेता बन्दै फेरि उनी फिल्मी क्षेत्रमा सक्रिय छिन्। उनको संघर्षमय जीवन जोसुकैका लागि पनि प्रेरणादायी छ। ह्याप्पी वर्थ डे मनिषा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell