
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ।
साउन २३ गते देखि सुरु भए पनि प्रतिनिधि विवादका कारण पटक-पटक सर्दै आएको महाधिवेशनको निर्वाचन कार्यक्रम बिहानबाट सुरु भएको हो। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहान ७ देखि मतदान सुरु हुने भनिए पनि केही ढिलाइ भएको निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुले जानकारी दिए।
अध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका थिए। पदमराज पन्तले उम्मेदवारी फिर्ता लिएपछि महाधिवेशन अध्यक्षमा अब ७ जना भिड्दैछन्।
अध्यक्षका उम्मेदवारहरुमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की छन्। उम्मेदवारी फिर्ता लिएका पन्तले मनोजमणिलाई समर्थन गर्ने बताइएको छ।
त्यसैगरी, महामन्त्रीमा ६ जनाले उम्मेदवारी दिए पनि राजेश ज्ञवालीले फिर्ता लिएपछि ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। महामन्त्रीमा कुन्दनराज काफ्ले, दीपक भट्टराई, शङ्कर पौडेल, सरोज थापा र हिमालदत्त श्रेष्ठको उम्मेदवारी परेको छ।
कोषाध्यक्षमा अञ्जना अर्याल, उमेश भट्टराई, केदार खनाल, टीका श्रेष्ठ, निमा गिरी र शिव रिमालबीच प्रतिस्पर्धा हुँदैछ।
उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी ५ सयभन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। धेरै मतदाताले भोट हाल्न पाउने उम्मेदवारका लागि इलेक्ट्रोनिक मतदान प्रक्रियाद्वारा गरिने र थोरै मतदाताले भोट हाल्ने उम्मेदवारका लागि मतपत्रको प्रयोग गरिने समितिको भनाइ छ।