PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

घरजग्गा किनमेल बढेको बढ्यै, कसरी बढिरहेछ जग्गाको भाउ?



अमर बडुवाल

घरजग्गा किनमेल बढेको बढ्यै, कसरी बढिरहेछ जग्गाको भाउ?

काठमाडौं : जग्गाको मुल्य हरेक वर्ष लगभग दोब्बर हुँदै बढिरहेको छ। जग्गाको मूल्य अस्वभाविक रुपमा बढे पनि कारोबार घटेको छैन। जग्गाको मूल्य बढे अनुसार अर्थतन्त्रको आकार भने बढेको छैन। नेपाल जग्गा तगा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठका अनुसार पछिल्लो समयमा घरजग्गाको मूल्य र कारोबार दुबै बढेको छ।

उनले पछिल्लो ६ महिनाको अवधिमा काठमाडौं लगायतका मुलुकका शहरका विभिन्न क्षेत्रको जग्गाको मूल्य थप बढेको बताउँदै सुरक्षित लगानीको रुपमा जग्गामा लगानी गर्ने क्रम बढेको बताए। 'केही पैसा कमाएपछि लगानी गर्ने प्रर्याप्त ठाउँहरु छैन। जग्गामा लगानी गरेपछि डुब्ने अवस्था कम भएकाले जग्गामा लगानी बढेको छ,' उनले बिजमाण्डूसँग भने, 'जग्गाको मूल्य बढ्नुको प्रमुख कारण यही हो।' उनका अनुसार सेयर बजारमा कमाउने लगानीकर्ताले जग्गामा लगानी गरेकाले कारोबार बढेको हो। 'एक वर्षको अवधिमा ११ सय बिन्दुमा रहेको नेप्से १८ सय बिन्दु छोयो। यो अवधिमा सेयरमा कमाउने धेरै लगानीकर्ता जग्गातर्फ आए,' श्रेष्ठले भने, 'सेयर बजारबाट कमाएको पैसा लगाउने अरु ठाउँ नभएकाले जग्गामा आएको हो।'

उनले लगानीका लागि अवसरहरु कम भएकाले जग्गामा लगानी ओइरिएको बताउँदै वैदेशिक रोजगारीमा गएकाले समेत घरजग्गामा लगानी बढेको बताए।

जग्गा किन्ने कस्ता ?

घरजग्गा ब्यवसायी शम्भुराम डंगोलका अनुसार घर जग्गा किन्नेहरु बैदेशिक रोजगारीमा गएका, सरकारी जागिर भएका र ठूला ब्यापारी नै सबैभन्दा बढी छन्। काठमाडौंको काँठ क्षेत्रमा जग्गाको कारोबार बढी भएको छ। कम मूल्यका जग्गाको कारोबार बढी भएको छ। यस आधारमा मध्यमवर्गका रोजगारी भएका धेरैले जग्गा किनेका छन्। घरजग्गा व्यवसायीका अनुसार काठमाडौंको घरभाडा महँगो भएकोले समेत जग्गाको बिक्री बढेको हो। काठमाडौंमा एक फ्ल्याटको २० हजार रुपैयाँ पर्न थालेपछि कामकाजीहरुले केही रकममा जग्गा किनेर घर बनाउन थालेका छन्। बैंकको ब्याज समेत सस्तो भएकोले मध्यमस्तरका घरका लागि कर्जा बढी गएको छ। आवासीय घरजग्गा कर्जा बैंकहरुले सात प्रतिशतका दरले २० वर्षलार्इ कर्जा प्रवाह गर्न थालेका छन्। बैंकको ब्याजदर सस्तो भएकोले समेत कामकाजीले केही रकम जोहो गरेर जग्गा किनेर घर बनाउन थालेका छन्। राष्ट्र बैंकका अनुसार बाणिज्य बैंकले  जेठ महिनासम्ममा आवासीय घरजग्गा कर्जामा १ खर्ब ४ अर्ब लगानी गरेका छन्। बाणिज्य बैक, विकास बैंक र फाइनान्स कम्पनीले आवासीय घरजग्गा कर्जामा १ खर्ब ३८ अर्ब ६२ करोड लगानी गरेका छन्।
उच्च ओहदामा बस्ने सरकारी जागिरे, वकिल, डाक्टर, शिक्षक/प्रध्यापक र उपत्यका बाहिरका व्यापारीहरु उपत्यकामा घर जग्गा किनिरहेका छन्।
 
व्यवसायी श्रेष्ठ भन्छन, 'नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ। वर्षेनी ६ खर्बभन्दा बढी रेमिटेन्स नेपाल भित्रिन्छ। नेपाल आएको मध्ये लत्ताकपडा, शिक्षा, इलोक्ट्रोनिक्स सामानपछि बचेको धेरै घरजग्गामा लगानी हुन्छ। 
 
उनका अनुसार विदेश गएकाहरुले विदेशबाटै जग्गा व्यवसायीलाई सम्पर्क गर्छ र जग्गा किन्छ। 
काठमाडौंमा यो वर्ष १ लाख भन्दा बढी घरजग्गाको कारोबार भएको थियो।

जग्गाको लगानी कसरी रोक्ने ?

सुविधा खोजेर शहरमा बसार्इ सर्ने विश्वव्यापी मान्यता हो। कमार्इ हुनेवित्तिकै घरजग्गामा लगानी गर्ने प्रवृति नेपालमा झन् चर्को छ। तर जमिन बढाउन नसकिने र जनसंख्या रोक्न नसकिने विषय हुन्। घरजग्गा व्यवसायी श्रेष्ठ अपार्टमेन्टलार्इ प्राथमिकता नदिए जग्गा नै सकिएर बस्ने ठाउँनै नहुने बताउँछन्। सरकारले स्काइ लिभिङ(अपार्टमेन्ट)लार्इ प्राथामिकतामा राखेर काम गर्नुपर्ने श्रेष्ठको भनाइ छ। उनले भने, 'अपार्टमेन्ट बनाउने प्रक्रिया छोटो भएमा बिल्डर्सले अपार्टमेन्टमा लगानी गर्थे। २० देखि २५ लाखमै अपार्टमेन्ट पाउने अवस्था आउँथ्यो।'
उनका अनुसार २० लाखमा अपार्टमेन्ट आएमा ४ आना घडेरीलार्इ किन ४० लाख हाल्थे र ?  

भूकम्पको डर हावादारी हल्ला

भूकम्प जाने ठाउँमा ठूला अपार्टमेन्ट बनाउन हुँदैन भन्ने धारणा नै गलत भएको उनले बताए। विश्वमा धेरै भूकम्प जाने देश जापानमा २ सय तलाको अपार्टमेन्ट बनाएको बताउँदै भूकम्प प्रतिरोधी अपार्टमेन्टहरु थप सुरक्षित हुने दाबी गरे। श्रेष्ठले अरु देशका राजधानीमा ९० प्रतिशत भन्दा बढी अपार्टमेन्ट हुने बताउँदै नेपालमा भने एक प्रतिशत पनि अपार्टमेन्ट नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell