
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको मतदान केही बेरअघि देखि सुरु भएको छ।
साउन २३ गते देखि सुरु भए पनि प्रतिनिधि विवादका कारण पटक-पटक सर्दै आएको महाधिवेशनको मतदान बिहान ७ बजेदेखि हुने भनिएको थियो। प्रतिनिधि परिचयपत्र बाँड्न ढिलाइ भएकाले मतदान समय सरेको हो। बाँकी रहेको परिचय पत्र बिहानभर बाँडिएको थियो।
अध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका थिए। पदमराज पन्तले उम्मेदवारी फिर्ता लिएपछि महाधिवेशन अध्यक्षमा अब ७ जना भिड्दैछन्।
अध्यक्षका उम्मेदवारहरुमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की छन्। उम्मेदवारी फिर्ता लिएका पन्तले मनोजमणिलाई समर्थन गर्ने बताइएको छ।
त्यसैगरी, महामन्त्रीमा ६ जनाले उम्मेदवारी दिए पनि राजेश ज्ञवालीले फिर्ता लिएपछि ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। महामन्त्रीमा कुन्दनराज काफ्ले, दीपक भट्टराई, शङ्कर पौडेल, सरोज थापा र हिमालदत्त श्रेष्ठको उम्मेदवारी परेको छ।
कोषाध्यक्षमा अञ्जना अर्याल, उमेश भट्टराई, केदार खनाल, टीका श्रेष्ठ, निमा गिरी र शिव रिमालबीच प्रतिस्पर्धा हुँदैछ।
उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी ५ सयभन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। धेरै मतदाताले भोट हाल्न पाउने उम्मेदवारका लागि इलेक्ट्रोनिक मतदानको प्रयोग गरिएको छ। थोरै मतदाताले भोट हाल्ने उम्मेदवारका लागि मतपत्रको प्रयोग गरिएको निर्वाचन समितिले जनाएको छ।