काठमाडौं : पहिलो महिनाको तलब जो सुकैलाई पनि निक्कै महत्वको हुने गर्छ। कोही त्यो तलब फ्रेममा राख्छन् कोही मन्दिरमा चढाउन पुग्छन्, केही समाजसेवामा पनि। दोस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो महिनाको तलब के गर्लान् त?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन्।
हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीसँग भएको आज बिहानको भेटमा प्रधानमन्त्रीले सहयोगको घोषणा गरेका हुन्।
प्रधानमन्त्रीलाई भेट्न कलाकारद्वय बालुवाटार पुगेका थिए।
‘भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन तपाईंहरुले चलाएको अभियान प्रशंसनीय छ। यसले देशैभरि सकारात्मक सन्देश गएको छ,' प्रधानमन्त्रीले भेटमा भने, 'यसले एउटा संस्कारकै रुपमा विकास गर्दैछ। अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलब तपाईंहरुको फाउण्डेसनलाई सहयोग गर्नेछु।’ धुर्मुस-सुन्तलीको अभियानको साथमा आफू पनि रहेको उनले बताएका थिए।
धुर्मुस–सुन्तलीको अगुवाइमा निर्माण भइरहेको सिन्धुपाल्चोकको गिरानचौर एकीकृत बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत प्रधानमन्त्रीले जनाएको उनको सचिवालयले जनाएको छ। बस्तीसम्म पुग्ने सडक निर्माणमा सरकारले सहयोग गर्ने भन्दै उनले कुनै समस्या र सहयोग चाहिए भन्नका लागि आग्रह समेत गरे।
सरकार र नागरिक मिलेर पुनर्निर्माणलाई उत्साहवर्द्धक बनाउनुपर्ने भन्दै प्रधानमन्त्रीले फाउन्डेशनको कामप्रति प्रशंसा गरेका थिए।
भेटमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दूत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्न सक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको, पुनर्निर्माणले तीव्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशील भएर काम गर्ने आशा लिएको बताए।
वैशाख २९ गतेदेखि मेलम्ची-८, मा फाउन्डेशनले गिरानचौर एकीकृत नमुना बस्तीको निर्माण सुरु गरिरहेको छ। अनुमानित ५ करोड लागतमा थालिएको परियोजना अन्तर्गत ६५ घर बनाउने लक्ष्य छ। दसैंअघि नै बस्ती हस्तान्तरण गरिने फाउण्डेशनले जनाएको छ।