
काठमाडौं : 'हामीले भूल गरेका छौं भने देशबाहिर बसेकाले भूल गरेका छौं।'
भरखरै 'चीरहरण' उपन्यास प्रकाशन गरेकी आख्यानकार नीलम कार्की निहारिका कवि पनि हुन्। माथिकै सम्बोधनबाट उनले आफ्नो कविता सुरु गरिन्, जसको शीर्षक थियो 'मसँग राष्ट्रियता छैन'।
९ वर्षदेखि अमेरिका बसाइमा रहेकी निहारिकाले साँच्चिकै भूल गरिन् त?
आज सर्वनाम थिएटरमा उनले वाचन गरेका कविता सुन्दा त्यस्तो लागेन। उनीसँगै वाचनमा थिइन्, दीपा एवाई राई। राई पनि हङकङमा बस्ने गर्छिन्।
प्रवासमा रहेका यी दुवै नारी स्रष्टालाई एकैसाथ सुन्ने मौका जुराएको थियो लूनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले। यो संस्थाले हरेक महिनाको १ गते 'हामी' शीर्षकमा रहेर कविता वाचनको कार्यक्रम गर्ने गर्छ।
सुरुमा निहारिकाले वाचन गरेको 'मसँग राष्ट्रियता छैन' कवितामा विदेशिनुको बाध्यतासँगै भूकम्प-पीडा पनि सँगसँगै जोडिएर आएको थियो। दुर्योधन र कर्णको प्रसंग सहित महाभारतको मिथकमा आधारित 'हातहरु', 'वनबास', 'बाघचाल', 'भोकाएका देवता', 'बिहे एक प्रस्ताव' र 'बन्दी पानी' सुनाइन्।
बिहेपछि एउटी नारीले श्रीमान्, घरपरिवार तथा समाजबाट भोग्नुपर्ने कठिनाइ पुरुषले भोग्दा कस्तो होला? प्रतीकात्मक रुपमा उनले 'बिहे एक प्रस्ताव'मार्फत यसरी सुनाइन्-
बेहुली बनी
जन्ती लिएर…
यस्तै, दीपा एवाईले 'अन्तरर्राष्ट्रिय अदालतमा रामको अग्निपरीक्षा' बाट आफ्नो वाचन सुरु गरिन्।
रामलाई उभ्याएर अदालतमा न्याय मागिरहेकी सीताको आक्रोशलाई उनले प्रयोगात्मक रुपमा प्रस्तुत गरेकी थिइन्।

नारी उन्मुक्ति र विद्रोहको कविता लेख्दै आएकी राईले 'नांगी द्रौपदी', 'सालिक 'निर्माण गर्न चाहन्छु', 'कामुक जलारी', 'मेरो महान् सेनापति', 'म आगो हुँ', '३२पुतली' लगायतका कविता वाचन गरिन्।
दुवै प्रवासी नारी कवि उपस्थित आजको कार्यक्रममा दुईबीच अरु समानता पनि देखिए। दुवैका केही कविता महाभारतको मिथकमा केन्द्रित थिए भने दुवैमा नारी चेतना र विद्रोहको झिल्को देख्न सकिन्थ्यो।