PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

एक हप्तादेखि आकाशबाट ढुंगा बर्सिंदा तीन घाइते, वैज्ञानिक अध्ययन गरौं : प्रहरी



पहिलोपोस्ट

  • हरिकुमार राई
गाईघाट (उदयपुर) : वर्तमान वैज्ञानिक युगलाई चुनौती दिने गरी उदयपुरको पहाडी गाविस लाफागाउँ–१ पाकाना, तुम्चीमा अनौठो घटना हुन थालेको छ।  
 
गाउँको उच्चस्थानको टारमा तीन वटा मात्र घर छन् तर त्यहाँ मध्यदिन र रात्रिको समयमा अदृश्य शक्तिले ढुङ्गा बर्साउन थालेको एक हप्ता भएको स्थानीय बताउँछन्। यसबाट तीन जना घाइते भइसकेको लाफागाउँ गाविस स्वास्थ्य चौकीका अहेब योगेन्द्रकुमार श्रेष्ठले बताए।
 
उनका अनुसार सुरुमा मध्यरातको १२ बजे अचानक तीन किलोको ढुङ्गा स्थानीयवासीको घरभित्र नै खस्दा ओछ्यानमा सुतिरहेकी ११ वर्षीया सरिता तामाङ सख्त घाइते भएकी थिइन्। त्यसपछि दोस्रो दिन मध्याह्न १२ बजे दिउँसो स्थानीय जनमुनि राईको घरको आँगनमा ढुङ्गा बर्सन थालेपछि आँगनमा काम गरिरहेका राई घाइते भएका हुन्। उनी पनि अचेत अवस्थामा छन्।
 
चौथो दिनको मध्याह्न १२ बजेको फेरि आकाशबाट ढुङ्गा बर्सन थालेपछि जनमुनि राईको १६ वर्षीय छोरा घाइते भएको लाफागाउँ–३ का ध्रुव बस्नेतले बताए।
 
लाफागाउँभरि घटनाका बारेमा सनसनीपूर्ण हल्ला बाहिर आएपछि गाउँले भेला भएर हेर्न जाँदा पनि घरीघरी राईको आँगनमा ढुङ्गा खस्ने गरेको छ। ढुङ्गा कताबाट आयो भनेर नदेखिने तर भुइँमा बज्रिएपछि मात्र आवाज सुनिने र देखिने गरेको प्रत्यक्षदर्शी बताउँछन्।
 
आफ्नै गाउँमा भएको घटनाबारे सुनेर जिल्ला सदरमुकाम गाईघाटमा रहेका नेकपा माओवादी (विप्लव समूह) का जिल्ला सेक्रेटरी केदार राई घटनास्थल पुगेका छन्।
 
उनले पनि मध्यरातमा ढुङ्गा बर्सेको देखेको पुष्टि गरेका छन्। 'म लगायत १० जना गाउँलेहरु वास्तविक पत्ता लगाउन रातभर बस्यौँ, मध्यरातमा अचानक ढुङ्गा खस्न थाले,' उनले भने, 'केही समयपछि खस्ने क्रम रोकियो, खसेका ढुङ्गा तीन देखि पाँच किलोसम्मका रहेका छन्।'
 
घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरलाई खबर गरेपछि प्रहरी चौकी साउनेको टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको छ।
 
उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले भने, 'हाम्रो टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको छ, ढुङ्गा खसेको आवाज आउँछ र ढुङ्गाहरु पनि खसेर भुइँमा झरेको पुष्टि भएको छ।'

लाफागाउँका हर्कबहादुर राईका अनुसार केही महिनाअघि अदृश्य शक्तिको ढुङ्गा लागेर घाइते भएकी ११ वर्षीया बालिका सरिता तामाङ रात्रिको समयमा हराएकी थिइन्।
 
राति घरमा अन्य परिवारसँगै सुतिरहेकी बालिका तामाङलाई लामो केस भएको कालो मानिसजस्तो आकृति आएर जङ्गलतिर लगेर गएको आफूले सुनेको राईले बताए। बिहान उज्यालो हुने बेला तामाङलाई उक्त शक्तिले घरमा नै ल्याएर छाडेको र यो कुरा कसैलाई नभन्नु, भने राम्रो नहुने बताएको राईले सुनाउँछन्।
 
ढुङ्गाले लागेकी बालिका तामाङ अहिले अचेत छिन् भने चोट कतै देखिएको छैन।

वैज्ञानिक युगमा अदृश्य शक्तिबाट भएको यस्तो घटनाको वास्तविकता अध्ययन गर्न वैज्ञानिक अध्ययन नै गर्नुपर्ने निष्कर्षमा प्रहरीसमेत पुगेको छ। (रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell