
रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि आयोजक ब्राजिल र जर्मनी भिड्ने भएका छन्। बुधबार भएको सेमिफाइनलमा विजयी हुँदै ब्राजिल र जर्मनी फाइनलमा पुगेका हुन्।
लगातार दोस्रो पटक ओलम्पिक फुटबलको फाइनलमा प्रवेश गर्ने क्रममा नेमारको नेतृत्वमा रहेको ब्राजिलले होण्डुरसलाई ६-० गोल अन्तरले हरायो। अर्को सेमिफाइनलमा जर्मनीले सन् १९९६ को स्वर्ण विजेता नाइजेरियालाई २-० ले पराजित गर्यो।
नेमारले गरे १४ सेकेण्डमै गोल

ब्राजिलियन कप्तान नेमारले खेल सुरु भएको १४ सेकेण्डमै गोल गर्दै रेकर्ड कायम गरेका छन्। नेमारले गरेको गोल ओलम्पिक इतिहासमा भएको सबैभन्दा छिटो गोल हो।
स्पानिस क्लब बार्सिलोनाबाट खेल्ने नेमारले इन्जुरी टाइमको पहिलो मिनेटमा पनि गोल गरे। होण्डुरस विरुद्ध गोल गरेसँगै नेमारको जारी ओलम्पिकमा गोल संख्या ३ पुगेको छ। समूह चरणमा ३ वटै खेलमा गोल गर्न नसकेका नेमारले कोलम्बिया विरुद्धको क्वाटरफाइनलमा एक गोल गरेका थिए।
नेमारसँगै गाब्रिएल जेससले पनि होण्डुरस विरुद्ध २ गोल गरे। उनले खेलको २६ औं र ३५ औं मिनेटमा गोल गरे। यस्तै माक्र्विन्होसले ५१ र लुअनले ७९ औं मिनेटमा एक-एक गोल गरे।
जर्मनी पहिलो पटक फाइनलमा

जर्मनी पहिलो पटक ओलम्पिक फुटबलको फाइनलमा प्रवेश गरेको छ। यसक्रममा जर्मनीले एक पटकको स्वर्ण विजेता नाइजेरियालाई २-० ले हरायो। जर्मनीको पहिलो पटक फाइनल पुर्याउन लुकास क्लोस्टेरमन र निल्स पेटेरसनले एक-एक गोल गरे।
यसअघि जर्मनीले २ पटक ओलम्पिक फुटबलमा कास्य पदक जितेको थियो। सन् १९६४ को टोकियो ओलम्पिक र १९८८ सोल ओलम्पिकमा जर्मनीले कास्य जितेको हो। दोस्रो पटक कास्य जितेयता जर्मनीले ओलम्पिक फुटबलमा सहभागिता जनाएको पनि यो पहिलो पटक नै हो।
नयाँ टीमले स्वर्ण जित्ने पक्का
यसपटक ३ पूर्व विजेता टीमले रियो ओलम्पिकको फुटबलमा सहभागिता जनाएका थिए। जस अन्तर्गत अर्जेन्टिना, मेक्सिको र नाइजेरिया थियो। तर तीनै टीम बाहिरिसकेको अवस्थामा अब ओलम्पिक फुटबलमा नयाँ टीमले स्वर्ण जित्ने पक्का भएको छ।साबिक विजेता मेक्सिको र २ पटकको विजेता अर्जेन्टिना समूह चरणबाटै बाहिरियो भने नाइजेरिया सेमिफाइनलबाट बाहिरियो।
ब्राजिल ओलम्पिक फुटबलको फाइनलमा प्रवेश गरेको यो चौथो पटक हो। यसअघि ३ पटक फाइनल पुगे पनि ब्राजिलले स्वर्ण जित्न सकेको थिएन। ४ वर्षअघि लण्डन ओलम्पिकमा ब्राजिल मेक्सिकोसँग पराजित भएको थियो। यता जर्मनी पहिलो पटक फाइनल पुगेको हो। सन् १९९६ को ओलम्पिकमा पूर्वी जर्मनीले स्वर्ण जितेको थियो।