काठमाडौं : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन अन्तर्गत जारी मतगणनामा अध्यक्ष पदका लागि नैनसिंह महर अगाडि देखिएका छन्।
बिहानबाट सुरु भएको मतगणनाअनुसार महरले अहिलेसम्म ८०६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी मनोजमणि आचार्यले ७८६ मत ल्याएका छन्।
यस्तै महामन्त्रीमा कुन्दनराज काफ्लेको मत ७७७ छ। सरोज थापाको ६९१, दीपक भट्टराईको ६२४ र हिमालदत्त श्रेष्ठको ५१७ मत आइसकेको निर्वाचन समितिले जनाएको छ।
यस्तै उपाध्यक्षमा जनजातितर्फ नवीन राई अगाडि छन्। उनी अन्य प्रतिस्पर्धीभन्दा ११ मतले अगाडि देखिएका हुन्।
महिला उपाध्यक्षमा भने उर्मिला थपलियाले ३७ मतले लिड गरिरहेकी छिन्।
अहिलेसम्मको गणनाअनुसार देउवा प्यानल अगाडि देखिएको छ। जनजाति र महिलातिर भने पौडेल प्यानलका उम्मेदवारले लिड गरिरहेका छन्।
केही बेरअघि काठमाडौं विश्वविद्यालय (केयु) को मतगणना भने पूरै सकिएको छ। केयुबाट केन्द्रीय सदस्यमा केयुका डा. रितेश चिमोरिया विजयी भएका छन्। उनीसँगै प्रतिस्पर्धामा रहेका अर्जुन थापा, डा. चन्दन रमण र क्षितिज गौतम पराजित भएका छन्।
नयाँ नेतृत्व चयनका लागि हिजो सुरु भएको मतदान आज बिहान ८ बजे मात्रै सकिएको थियो। नेताहरुले भागबण्डा मिलाउँदै जाँदा २३ सयबाट बढेर ३८ सय ५२ प्रतिनिधि पुगेकोमा मतदानमा भने करिब ३२ सय ५० प्रतिनिधि मात्र सहभागी भए। ६ सयले मतदानमा भागै लिएनन्।