काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्धितर्फ लैजान अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन्।
सहिद बेपत्ता परिवार घाइते अपांग संरक्षण मञ्चले रामवृक्ष यादवको २२औं स्मृति दिवसका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले सहिदको सपना पूरा गर्न देशमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताए।
'मुलुकको अग्रगमनका लागि जीवन बलिदान गर्ने सहिद तथा घाइते र बेपत्ता परिवारलाई राजनीतिभन्दा माथि राखेर न्याय दिलाइदिनुपर्छ,' उनले भने।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले यादव निष्ठावान् र आदर्शवादी नेता भएको स्मरण गर्दै अहिले मधेसमा विभिन्न रुपमा जारी रहेको आन्दोलनलाई सही दिशानिर्देश गर्न उनको अभाव खट्किएको विचार व्यक्त गरे।