काठमाडौं : नेपाल विद्यार्थी संघको साउन २३ गते भृकुटीमण्डपमा उद्घाटन भएको महाधिवेशन हिजो मात्रै सकियो। महाधिवेशनको सुरुवातदेखि अन्त्यसम्म नै सहज अवस्था बन्न सकेन। सुरुवातदेखि नै सतहमा आएको प्रतिनिधि विवाद अन्तयसम्म नै देखापर्यो।
निर्वाचन परिणाम सार्वजनिक गर्ने विषयदेखि विद्यार्थी गतिविधिसम्म अव्यवस्थाको पर्याय बन्यो नेविसंघ।
हामीले संघको महाधिवेशनका केही दृष्यहरुलाई नियाल्नेका थियौं।
१. ११ दिनमा ११औं महाधिवेशन
नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन गत २३ गते भृकुटीमण्डपमा भएको थियो। ९ वर्षदेखि हुन नसकेको महाधिवेशन एकाएक ९ दिनसम्म हुने/नहुने नै अनिश्चित भयो। महाधिवेशन प्रतिनिधिमा नेताहरुको ज्यादा चासो देखाए।
अन्त्यमा मात्रै नेताहरुबीच प्रतिनिधिको भागवण्डा मिल्यो र अधिवेशन सम्पन्न भयो।
२. बन्दसत्र बिनाको महाधिवेशन
नेपाल विद्यार्थी संघको अधिवेशनमा पनि प्रजातान्त्रिक संस्कारको अभ्यास गराउने थलोको रुपमा प्रयोग गरिँदै आएको थियो। नेपाली कांग्रेसको सबैभन्दा कम उमेरका पुस्ताको संगठन भएकाले त्यहीबाट राजनीतिक संस्कार सिकाउन उसको विधानमा महाधिवेशनको अवधि विधि र अभ्यासका तौरतरिका समेत कांग्रेसको जस्तै बनाइएको छ।
कांग्रेसले विधान संशोधन गरेपछि विधानलाई महासमिति बैठकले अनुमोदन गरेपछि मात्र लागू हुने व्यवस्था गरेको छ। त्यस्तै नेविसंघको विधान पनि महाधिवेशनको बन्दसत्रबाट अनुमोदन भएपछि मात्र लागू हुने व्यवस्था छ। तर यस पटक विधानमा अहिलेसम्मकै सबैभन्दा समावेशी संगठन बनाउनेगरी संशोधन भएको थियो। त्यसलाई कार्यान्वयनमा लैजान अर्थात् विधानमा प्राण भर्न बन्दसत्र आवश्यक हुन्थ्यो । यसपालि बन्दसत्र नै भएन। नेविसंघको विधान मस्यौदा समितिले गरेको मस्यौदा कांग्रेसले गठन गरेको निर्देशक समितिले हुन्छ भनेपछि सोझै कार्यान्वयनमा गयो।
सायद महाधिवेशन प्रतिनिधिले विधानमा के व्यवस्था छ भनेर थाहा पाउन भोलिका दिनमा नेविसंघले पठाउने प्रिन्ट कुर्नुपर्छ।
३. महाधिवेशन होइन महाचुनाव
कुनै पनि राजनीतिक संगठनले आवधिक रुपमा नेतृत्व चयनका लागि गरिने अभ्यासलाई चुनाव नभनेर महाधिवेशन भन्छन्।
किन महाधिवेशन त? किनभने महाधिवेशनमा नेतृत्वको चुनाव मात्र हुँदैन विचारको बहस पनि हुन्छ। संगठन हाँक्ने नीति तयार हुन्छ। त्यसलाई देशभरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले बहस र छलफलबाट आवश्यक संशोधन सहित अनुमोदन गर्छन्, त्यसकारण महाधिवेशन भनिन्छ।
तर नेविसंघले यसपटक महाधिवेशन नभएर महाचुनाव मात्र गरेको छ। संशोधित विधानमा प्रतिनिधिहरुसँग छलफल नगरेको मात्र होइन उसले त्यो विधान उनीहरुबाट अनुमोदन नै नगराई कार्यान्वयनमा लगेको छ। त्यसकारण यो महाधिवेशन नभएर महाचुनाव हो।
४. नेविसंघका नेताभन्दा कांग्रेस नेता सक्रिय
नेपाल विद्यार्थी संघ स्वाभाविक रुपमा कांग्रेसको भातृ संगठन भएकाले त्यसको महाधिवेशन गराउन, महाधिवेशनलाई मर्यादित बनाउन, विद्यार्थीहरुलाई अनुशासित राजनीतिका लागि प्रोत्साहित गर्नु कांग्रेसको कर्तव्य नै हो।
नेविसंघ कांग्रेसको भ्रातृ संगठन भएकाले त्यसको नेतृत्वले नै कांग्रेसको नेतृत्व र आफ्ना प्रतिनिधिहरु दुवैप्रति उत्तरदायी हुने व्यवस्था गरेको छ। त्यसकारण नेविसंघको नेतृत्वमा जो आए पनि ऊ कांग्रेसको नेतृत्वप्रति नै उत्तरदायी हुने हुँदा नेताहरु अनावश्यक सक्रिय हुनु जरुरी थिएन।
तर कांग्रेसमा त्यस्तो भएन। कांग्रेसका सांसदहरुदेखि केन्द्रीय सदस्यसम्म फिल्डमै उत्रिएर प्यालनका लागि काम गरे। देउवा प्यालनका त सिनियर नेताहरु समेत महाधिवेशनको मैदानमा पुगेर भिड छिचोल्दै विद्यार्थीहरुलाइ प्यालनमा भोट गर्न र आफ्नो प्यानललाई विजयी गराउन आग्रह गरेका देखिन्थे। परिणाम पनि त्यसैगरी आयो। त्यसो गर्नेमा सभापति देउवा प्यानलकै नेताहरु ज्यादा सक्रिय देखिए।
५. राष्ट्रिय स्वरुपको अभ्यास कमजोर
नेपाल विद्यार्थी संघले ६८ सदस्यीय कार्यसमिति हुने विधान संशोधन गरेर एक सय ५१ सदस्यीय कार्य समिति हुने गरी विधान संशोधन गर्यो। उसले संशोधन गरेको विधानअनुसार हरेक प्रदेशबाट केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरियो। आरक्षण कोटाबाहेक खुल्ला केन्द्रीय सदस्यको प्रावधान नै हटाइदियो। त्यसरी हटाउँदा उसले प्रदेशको उम्मेदवारलाई प्रदेशबाटै भोट हाल्ने व्यवस्था गर्यो। परिणाम देशभरबाट आएकाहरुसँग प्रदेशमा उम्मेदवारले घुलिमल अन्तर्क्रिया समेत हुन पाएन।
प्रदेशबाट उम्मेदवार बनेकाहरु आफ्ना प्रदेशका मतदाताभन्दा अरु प्रदेशका प्रतिनिधि बढी भेटेकै कारण भोट माग्न समेत सक्रियतापूर्वक पाएनन्।
६. इलेक्ट्रोनिक भोटिङ मेसिन
नेपाल विद्यार्थी संघले यस पटकको महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गर्यो। ६ सय ८५ जना उम्मेदवार रहेको महाधिवेशनमा उसले इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरेर युवा पुस्तामा प्रविधिप्रति विश्वास रहेको सन्देश त दियो। तर गणना सहज भए पनि भोट गर्न नै धेरै समय लाग्यो।
७. दुई दिनसम्म लगातार भोट
महाधिवेशनमा चुनावले मात्र दुई दिन समय गुजार्यो। इलेक्ट्रोनिक भोटिङ मेसिनमा पारङ्गत नभएका प्रतिनिधि र धेरै जना उम्मेदवार र पद रहेको चुनावका कारण मतदानका लागि नै दुई दिन खर्चनुपर्यो। बुधबार मध्याह्नबाट सुरु भएको मतदान बिहिबार बिहानसम्म जारी रह्यो। रातभर लाइतमा बसेर नेविसंघका महाधिवेशन प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेका थिए।
८. अव्यवस्थित निर्वाचन समिति
निर्वाचन समितिले निर्वाचन कार्यातालिका सरेको परिवर्तन गरिएको सूचना जति छिटो छिटो सार्वजनिक गर्यो त्यसकै गतिमा मतदान र मतपरिणामको बारेमा पनि जानकारी गराउने अपेक्षा गरिएको थियो। तर कार्यतालिका छिटोछिटो सार्वजनिक गर्ने निर्वाचन समितिले मतदान सुरु भएपछि कुनै सूचना जारी गरेन। कति मतदाताले भोट खसाले कति बाँकी छन्, त्यसका लागि कति समय आवश्यक हुन्छ जस्ता जानकारी उसले आफूले नदिने मात्र होइन माग्न पुग्दा समेत दिन सकेन।
एकैपटक बेलुका १० बजेका लागि समय तोकिएको र एक बजे सम्मका लागि समय थप गरेको सूचना जारी गरियो। जबकि मतदानका लागि बिहान ८ बजेसम्म कुर्नुपर्यो।
९. परिणाम सार्वजनिकमा लाचारी
सबैभन्दा लाचार पक्ष त के रह्यो भने निर्वाचन समितिले दिउँसो २ बजे नै सार्वजनिक गरेको जानकारी व्यवस्थित रुपमा साँझ ६ बजे पनि सूचना निकाल्न सकेन। अध्यक्ष र महामन्त्री पदका विजयीहरु अबिरजात्रा गरेर नाराबाजीमा सहभागी हुँदा उनीहरुकै प्यालनमा लडेका तल्लो पदकाकाहरु आफ्नो परिणाम थाहा नपाएर अन्योलमा थिए।
१०. सदस्यलाई सास्ती
प्यालनमा लडेका पदाधिकारीले प्रतिनिधि राख्न पाउने हुनाले निर्वाचन समितिबाट औपचारिक जानकारी नपाए पनि जितको जानकारी पाएर अबिरजात्रादेखि विजय जुलुसमा सहभागी भए। तर सदस्यहरु बेलुकासम्म पनि अन्यौलमा बसे। उनीहरु आफूसँग निकट रहेका व्यक्तिहरुले परिणामबारे जानकारी नै पाउन नसकेको भन्दै दुःखमनाउ गरिरहेका थिए, साँझसम्म पनि।
साँझ साढे ६ बजे निर्वाचन समितिलाई मतपरिणामबारे जानकारी लिँदा उसले अझै एक घण्टा लाग्ने बताएको थियो।
११. परिणामलाई सहज स्वीकार
धेरैजसो संगठनमा चुनावमा प्रजातान्त्रिक प्रक्रिया भनेर भाग लिए पनि परिणाम आएपछि एउटा पक्षले अर्को पक्षलाई अनेक आरोप गरेर असन्तुष्टि सार्वजनिक गरेको सुनिन्छ। तर नेपाला विद्यार्थी संघको चुनावको परिणाम आएपछि विजयी नैनसिंह महर र पराजित मनोजमणि आचार्य हातेमालो गरेर बाहिर निस्किए। अँकमाल गर्दै मिडियासामु प्रस्तुत भए।
हारेका मनोजमणिले जितेका नैनसिंहको हात उठाइदिए र बधाई दिए। अनि विभिन्न गुट उपगुट भनेका चुनावी प्रयोजनका लागि मात्र बन्ने भन्दै नैनसिंहले सबैलाई समेट्ने र गुटको अन्त्य गर्ने विश्वास व्यक्त गरे। सँगै रहेका विजयी उम्मेद्वार नैनसिंहले आफू विगतमा समेत गुटका लागि काम नगर्ने छवि बनाएको व्यक्ति भएको भन्दै सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाए।
१२. सामान्य जुलुस
विजयपछि जित्ने पक्षले दम्भ देखाउने र हार्ने पक्षलाई देखिस् भन्दै सेखी झार्ने अभ्यास पनि नेविसंघमा भएन। जितेका नैनसिंह महर केही साथीसहित प्रतिनिधिहरुले कुरेको स्थानमा गए। त्यहाँ अबिर जात्र भयो। उनलाई समर्थक प्रतिनिधिहरुले बोकेर केही बेर घुमाए। त्यसपछि उनी पुन: कांग्रेस कार्यालय परिसरमा फर्किएर र पूरा निर्वाचन परिणाम कुरेर बसे। तर उनको कुराइमा त्यो सम्भव नभए पछि त्यहाँबाट बाहिरिए।
१३. विजयीहरु आआफ्ना नेताका घर
नेताहरुको आशीर्वादबाट उम्मेदवार र विजयी बनेकाहरु नेताकै घरमा कृतज्ञता प्रकटका लागि जान हतारोमा थिए। केही गाडी मगाएर नेताका घरतिर लागेका थिए भने केही आफ्ना सवारी तथा ट्याक्सीको प्रयोग गरेर हिँडेका थिए। अध्यक्षमा निर्वाचित नैनसिंह महर सभापति शेरबहादुर देउवाभन्दा अघि गृह तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भेट्न पुगेका थिए। त्यस्तै पौडेल प्यालनबाट कोषाध्यक्ष निर्वाचित शिव रिमाल सिधै रामचन्द्र पौडेलको निवासतर्फ लागेका थिए।
१४. सिटौला हाबी हुँदा पौडेल कमजोर
नेतृत्वका लागि भएको चुनावको परिणामले वरिष्ठ नेता पौडेललाई कमजोर रुपमा पुर्याइदिएको छ। सभापति शेरबहादुर देउवालाई आफ्नो साख जोगाउने माध्यम भएको छ भने सिटौला नेतृत्वको कांग्रेसको तेस्रो धार सशक्त रुपमा उदाएको छ।
नेपाल विद्यार्थी संघ महाधिवेशन प्रतिनिधिमा १० प्रतिशतमात्र हिस्सा लिएको त्यो समूह महाधिवेशनको परिणाममा भने महत्वपूर्ण परिणाम हात लगाउन सफल भएको छ। देउवा प्यालनमा मिसिएर चुनावल लडेको यो समूहले महामन्त्री उपाध्यक्ष सहमहामन्त्री सहितका महत्वपूर्ण पदमा आफ्नो वर्चश्व बनाउन सफल भएको छ।