
काठमाडौं : मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको एक अध्ययनअनुसार साउन महिनामा मात्रै महिला तथा बालबालिकामाथि हिंसाका १६ वटा घटना भएका छन्।
प्रतिष्ठानले विभिन्न सञ्चारमाध्यममा आएका समाचार अध्ययन गर्ने क्रममा दुई महिलाको हत्या र एक महिलाले आत्महत्या गरेको देखिएको छ। अध्ययनअनुसार एक महिलाले हिंसाका कारण आत्महत्याको प्रयास गरेकी छिन् भने बोक्सीको आरोप तथा दाइजोका नाममा दुई/दुई जना महिलामाथि हिंसा गरिएको छ।
यस्तै, बलात्कार र कुटपिटमा एक/एक महिला परेका थिए। यसैगरी, बालबालिकामाथि आठ घटना भएका थिए जसमा एक बालिकाले आत्महत्या गरेकी छिन् भने तीन बालिका बलात्कारमा परेका छन्। घरायसी विवादका कारण बाबुले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि तीन बालबालिका बिचल्लीमा परेका छन्। यसैगरी, एक बालिका यौन दुर्व्यवहारमा परेकी थिइन्।
महिला तथा बालबालिकामाथि भएको हिंसाका घटनालाई क्षेत्रगत रुपमा हेर्दा पूर्वाञ्चलमा एक, मध्यमाञ्चलमा सात, पश्चिमाञ्चलमा तीन, मध्यपश्चिमाञ्चलमा तीन र सुदूर–पश्चिमाञ्चलमा एक देखिएको छ। उक्त अध्ययनमा गोरखापत्र, कान्तिपुर, नागरिक र अन्नपूर्ण पोष्ट दैनिकलाई आधार मानिएको थियो। फोटो :giphy.com