
जमैकन धावक उसेन बोल्टले लगातार तेस्रो पटक ओलम्पिकमा २ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन्।
ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत २ सय मिटर १९.७८ सेकेण्डमा दौड पूरा गरेका बोल्टले आफ्नै पुरानो रेकर्ड तोड्न भने सकेनन्।
उनले २ सय मिटरमा आफ्नो पुरानो रेकर्ड तोड्न चाहेको बताएका थिए। २ सय मिटरलाई बोल्ट आफ्नो फेभरेट स्पर्धा मान्छन्। जसमा सन् २००९ मा बोल्टले १९.१९ सेकेण्डको वर्ल्ड रेकर्ड कायम गरेका छन्।
२ सय मिटरमा स्वर्ण जितेपछि बोल्टले 'अनोदर वन' भनेर ट्वीट गरेका छन्। तर रेकर्ड तोड्न नसकेको भने बोल्टले आफु खुसी नभएको बताएका छन्।
यस स्पर्धामा क्यानडाका आन्द्रे डे ग्रासले रजत तथा फ्रान्सका क्रिस्टोफ लेमाइटरले कास्य पदक जिते। डे ग्रासले निर्धारित दुरी २०.०२ तथा लेमाइटर २०.१२ सेकेण्डमा दुरी पूरा गरे।
सय मिटर दौडमा बोल्टलाई चुनौती दिएका अमेरिकन जस्टिन ग्याटलिन भने यस स्पर्धामा सेमिफाइनलबाटै बाहिरिएका थिए।
लगातार तेस्रो पटक तीन फरक स्पर्धामा स्वर्ण पदक जित्दै ट्रिपल ट्रिपल जित्ने अभियानमा रहेका बोल्टले यसअघि रियोमा सय मिटर दौडमा स्वर्ण जितिसकेका छन्।
अब बोल्टले ४ गुण सय मिटर रिले दौडमा प्रतिस्पर्धा गर्न बाँकी छ। यस स्पर्धामा पनि स्वर्ण जिते बोल्टले ओलम्पिक स्प्रिन्टको इतिहासमा रेकर्ड कायम गर्नेछन्।