PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

'कांग्रेसको मिनी चुनाव'मा नेताहरु नै हाबी, महाधिवेशन परिणामले पार्टी राजनीतिमा कस्तो असर गर्छ?



रमेश वाग्ले

'कांग्रेसको मिनी चुनाव'मा नेताहरु नै हाबी, महाधिवेशन परिणामले पार्टी राजनीतिमा कस्तो असर गर्छ?

काठमाडौं : नेपाल विद्यार्थी संघको महाधिवेशन बल्लतल्ल ९ वर्षपछि सम्पन्न भएको छ। लामो समयपछिको महाधिवेशन आफूले गरेको भनेर त्यसको ‘क्रेडिट’ लिने प्रयास नेविसंघका निवर्तमान अध्यक्षदेखि यो अधिवेशन सम्पन्न गराउन कांग्रेसले गठन गरेको निर्देशक समिति वा कांग्रेसको नेतृत्वले गर्न सक्छन्। त्यसमा थोरबहुत उनीहरुलाई श्रेय दिन पनि सकिएला।
 
यो महाधिवेशनले स्थापित गरेको जबरजस्त तथ्य के हो भने कांग्रेसका नेताहरुले नचाहँदासम्म नेविसंघ चुनाव हुँदैन।
 
अहिलेको महाधिवेशनलाई नेपाल विद्यार्थी संघको महाधिवेशन नभनेर 'नेपाली कांग्रेसकै मिनी चुनाव' भन्नुपर्ने हुन्छ। किनभने ६५ जिल्लाबाट २३ सय प्रतिनिधि चयन भएको ११ जिल्लाको विवादलाई कारण बनाएर नेताहरुको भागबण्डामा साढे १५ सय प्रतिनिधि थप गरियो। यो मत परिणामपछि नेतृत्वमा आएकाहरु कसका कत्ति जना परे भनेर अहिले हिसाबकिताब भइरहेको छ। कारण प्रस्ट छ- नेविसंघका प्रतिनिधिले भन्दा पनि कांग्रेस नेताका प्रतिनिधिले गरेको चुनाव हो यो।
 
यो चुनाव नेविसंघमा को कत्ति पपुलर भए भनेर विश्लेषणको पाटो नेपथ्यमै रह्यो। बरु कुन नेता कत्ति हाबी भए भनेर अहिले मन्थन भइरहेको छ।
 

देउवा गुट

नेविसंघ चुनाव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो साख जोगाउने आधर बन्यो। भ्रातृ संस्थाको अधिवेशनमा उनी निकै धपेडीमा थिए यसपालि।
 
'नेविसंघमा निर्वाचित कुनै पनि अध्यक्ष मेरो नै हो' भन्ने देखाउन सकेनन् उनले। त्यसैले आफ्नो छुट्टै प्यालन नै बनाएर महाधिवेशनमा होमिए। उनले बहुमत प्राप्त गर्नकै लागि सुशील कोइरालाको निधनपछि उदाएको कृष्णप्रसाद सिटौला समूहसँग गठबन्धन गरेर भए पनि आफ्ना उम्मेदवारलाई जिताउन सफल पनि भए। यदि त्यसो नगरेका भए उनले प्यालनमा आफ्नो हिस्सा नै प्रप्त नगर्ने वा कमजोर रुपमा प्राप्त गरेर पार्टीमा साख गिराउन सक्थे। जुन खतराबाट उनी जोगिएका छन्।
 

सिटौला गुट

यो चुनावले १३औं महाधिवेशनदेखि तेस्रो धारको रुपमा उदाएका कृष्णप्रसाद सिटौला समूहले भने साख उकास्ने काम गरेको छ। महिलातर्फको उपाध्यक्ष र प्रदेश नम्बर-४ को उपाध्यक्ष तथा एक महामन्त्री पाएको सो समूहले तीनमध्ये दुई पदमा जित्न सफल भएको छ। महिला उपाध्यक्ष भने गुमाएको छ। र, सहमहामन्त्री तथा केन्द्रीय सदस्यमा पनि उसले उठाएका उम्मेदवारले जित हासिल गरेका छन्।
 
अहिलेको महाधिवेशन गराउन गठित तयारी समिति बनाउँदा उनले जम्मा तीन जना पाएका थिए। अहिले भने नेविसंघमा उनको महत्वपूर्ण हिस्सा स्थापित भएको छ। नेपाली कांग्रेसभित्र विद्रोही छवि बनाएर विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा पुगेका नेता गगन थापा र विद्यार्थी संघमा आफ्ना क्याडर बनाउन सफल नेता प्रदीप पौडेलको साथले उनलाई त्यो हैसियतमा रहन सफल बनाएको छ।
 
१३ औं महाधिवेशनमा तेस्रो प्यालनमा चुनाल लडेर कुनै पनि पदमा विजय हासिल नगरेको सिटौला समूह दोस्रो चरणमा देउवालाई सहयोग गरेसँगै निर्णयक गुटमा परिवर्तन भएको थियो। नेविसंघ चुनावदेखि त्यो समूहको एलायन्स जमेको छ। यो समूहले खुमबहादुर समूहलाई विस्थापन गर्दै कांग्रेसभित्र र सरकारमा जाने क्रमका लागि पनि महत्वपूर्ण अंश हात पार्ने बाटो बनाएको छ।
 

पौडेल गुट

यही चुनावले वरिष्ठ नेता रामचन्द्र पौडेलको भने साख नराम्ररी गिराएको छ। नेविसंघ प्रतिनिधिमा आफ्नो बहुमत भएर पनि पौडेल समूहले धेरैजसो पदमा हार बेहोरेको छ। समावेशीतर्फ महिला, जनजाति र दलित उपाध्यक्ष तथा कोषाध्यक्षमा जित हात पारेको यो समूहले कार्यकारी पदहरु गुमाउन पुग्यो।
 
लामो समयदेखि विद्यार्थी संघको नेतृत्व आफ्नै पोल्टामा पार्ने यो समूह अहिले टिम व्यवस्थापन गर्न नसक्दा निराशाजनक परिणाम बेहोर्न बाध्य छ। आफ्नै प्यालनका विद्यार्थी नेता आनन्दराज त्रिपाठी विद्रोही अध्यक्षको उम्मेदवार भएका कारण अध्यक्षसहित अधिकांश पदमा थोरै मत अन्तरले हार बेहोरेका छन्। त्यसकारण यो समूह अहिले चिन्तित बनेको छ।
 
यो अधिवेशनले देउवाविरुद्ध चुनाव लडेको पौडेल समूहमा पनि एकता नरहेको देखाउँछ। आनन्दराज त्रिपाठीको उम्मेदवारी र उनले प्राप्त गरेको मतले नै यसलाई स्थापित गरिदिएको छ। कोइराला परिवारभित्रबाट पनि त्यो गुटलाई एकमुष्ट सहयोग छैन भन्ने कुरा बाहिर ल्याइदिएको छ। यसले पौडेल गुटमा दुई गुट भएको देखाउँदै अब सभापति देउवासँग छुट्टाछुट्टै डिल हुनसक्ने संकेत गरेको छ। त्यसो भयो भने त्यो गुटको कसको वर्चस्व रहने भन्ने अर्कौ प्रतिस्पर्धालाई बाटो खोलिदिन्छ।
 

खड्का गुट

नेपाली कांग्रेसभित्र सधैं निर्णायक भूमिका पर्खने खुमबहादुर खड्का समूह भने यो महाधिवेशनमा छुट्टै भूमिकामा प्रस्तुत हुँदा करिब भूमिकाविहीन अवस्थामा पुगेको छ।
 
खड्काले उठाएका अध्यक्षका उम्मेदवार शुभराम बस्नेतले ८७ मत मात्र पाएका छन्।  अन्य प्यालनमा मिसिएर चुनाव लडेका उनी निकटका उममेदवारले समेत हार बेहोर्नुपर्‍यो।
 
यो महाधिवेशनले देउवा पक्षसँग खुमबहादुर खड्का समूहको बार्गेनिङ पावर कमजोर बनाइदिएको छ। १३औं महाधिवेशनमा उपसभापति पाउने आश्वासन पाएर देउवा पक्षलाई सहयोग गरेको यो समूह त्यो प्राप्त गर्न नसकेकाले देउवा पक्षबाट अलग्गै प्रस्तुतिमा देखिएको हो। त्यही कारण अब यो समूहले उक्त पद नै गुमाउन सक्ने खतरा देखिएको छ।
 

अबको परिणाम के होला?

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल विद्यार्थी संघ विधिमा नभए पनि प्रक्रियामा प्रवेश गरेर नेतृत्व छान्न सफल भएको बाहेक यसको कुनै अर्थ नभएको बताउँछन्।
 
दाहालको भनाइमा अहिलेको परिणामले आफ्नो पक्षले जित्यो भनेर रमाउनेबाहेक कुनै परिणाम हासिल भएको छैन।
 
‘नेवि संघका प्रतिनिधिहरुबाट भन्दा पनि नेताहरुका प्रतिनिधिबाट भएको चुनाव हो। नेविसंघका कोको आए होइन, कुन नेताका कत्ति आए भनेर हिसाब गर्ने चुनाव हो,’ दाहालले भने, ‘यसको न राष्ट्रिय राजनीतिमा अर्थ रहन्छ न त कांग्रेसभित्रको राजनीतिमै अर्थ रहन्छ।’
 
कांग्रेसभित्र मन्त्री छान्नेदेखि पार्टीका पदसम्ममा भागबण्डा हुन्छ। त्यसलाई नेविसंघले असर गर्दैन?
 
दाहाल भन्छन्, ‘यसलाई त्यसरी हिसाब गर्नु नै लज्जाको विषय हो।'
 
कांग्रेसबाट नभएर देउवाबाट, पौडेलबाट वा अरु कुनै नेताबाट मन्त्री हुनेका लागि पनि लज्जाको विषय हुनुपर्ने उनी बताउँछन्। 
 
विश्लेषक दाहालले भनेजस्ते सैद्धान्तिक रुपमा एउटा भ्रातृ संगठनको चुनावको राजनीतिक हिसाबकिताब नगरे पनि हुने हो। तर, कांग्रेसको आन्तरिक राजनीतिमा भने यसको प्रत्यक्ष असर देखिने खतरा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell