चितवन : सरकारी तथा आङ्गिक क्याम्पसमा पढाउने समयमा अन्य क्याम्पस धाउने प्राध्यापकमाथि कारबाही सुरु गरिएको छ।
जिल्ला प्रशासनले एउटा सरकारी र पाँच वटा आङ्गिक क्याम्पसबाट कारबाही थालेको हो।
प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस र त्रिविबाट सम्बन्धन पाएका सप्तगण्डकी, बालकुमारी, मैयादेवी, सहिद स्मृति र सहिद स्मारक कलेजमा कुन प्राध्यापकले पढाउने समय कुन हो? विस्तृत विवरण मागिएको बताए।
विवरण हेरेर एउटै प्राध्यापकले एकै समयमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाएको पाइएमा सम्बन्धित विश्वविद्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीका लागि लेखी पठाउने उनले बताएका छन्।
रत्ननगरको सहिद स्मृति कलेज बाहेकका अन्य क्याम्पसबाट प्राध्यापकको विवरण र पढाउने समयसम्बन्धी विवरण अध्ययन भइरहेको छ।
यहाँका सरकारी र सामुदायिक क्याम्पसमा हाजिर गरेर एक/दुई पिरियड पढाउने अनि निजीमा हेल्मेट टिचरका रुपमा दौडिनेको सङ्ख्या अधिक भएपछि जिल्ला प्रशासनले कारबाही अघि बढाएको हो। सरकारी र सामुदायिक क्याम्पसमा पढाउने समयमा निजीमा भेटिएमा तिनीहरुलाई पक्राउ गरी मुद्दासमेत चलाइने प्रजिअ सिंहले बताए। 'त्यसको अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ,' उनले भने, 'अटेर गर्ने क्याम्पस प्रमुखलाई समेत कारबाही गरिनेछ।'
प्राध्यापक सङ्घका केन्द्रीय महासचिव प्रकाश अधिकारीले एउटै समयमा अन्यत्र पढाउन जानु बौद्धिक समुदायको बेइज्जत भएकाले त्यस्ता प्राध्यापकको संरक्षण सङ्गठनले गर्न नसक्ने बताए।