
काठमाडौं : नेपाल विद्यार्थी संघका निवर्तमान प्रवक्ता युपी लामिछानेले विभिन्न बाधा अड्चन छिचोल्दै महाधिवेशन सम्पन्न गरेको जनाउँदै नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन्।
एक विज्ञप्ति जारी गरी उनले संगठनभित्रकै किचलोले पटकपटक महाधिवेशन सार्नुपरेको जनाएका छन्। 'यहाँसम्म आइपुग्नु हाम्रासामु कम चुनौतीपूर्ण थिएन। कांग्रेस एकीकरणपछि कांग्रेसले आफ्नो दुई महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसक्दासम्म विभाजित नेविसंघका प्रत्येक दुई जिल्ला र क्याम्पस कमिटीलाई एक बनाएर पार्टीभित्रका अनेकन समुहलाई एकै ठाउँमा ल्याएर राजनीतिक समझदारी कायम गरेर अधिवेशनको माहोल तयार पार्नु कम चुनौतीपूर्ण थिएन,' उनले उल्लेख गरेका छन्।
संगठनभित्रको किचलोले महाधिवेशनको मिति सार्दै जानुपर्ने कारणले संगठनप्रतिको विश्वास कम हुँदै जाँदा कार्यकर्तामा निराशा छाएको र त्यसलाई चिर्नुपर्ने बाध्यता उत्तिकै रहेका उनले बताएका छन्।
'मुलुकमा संविधानसभा चुनाव, संविधान निर्माण, जनजीविकासित जोडिएका सवाल र शैक्षिक आन्दोलनलाई सँगसँगै अगाडि बढाउनु हाम्रासामु महत्त्वपूर्ण चुनौती बनेर आएका थिए,' उनले लेखेका छन्।
नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारीलाई शुभकामना दिँदै उनले सहयोगका लागि सञ्चारजगत, सुरक्षा निकाय, महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन्।
उनले प्रयास रहँदारहँदै पनि केही महत्त्वपूर्ण शैक्षिक मुद्दा निस्कर्षमा पुर्याउन नसकेकोमा क्षमा माग्दै लेखेका छन्, 'स्वतन्त्र विद्यार्थी युनियन चुनाव गराउन नसकेको तितो अनुभव लिएर नेविसंघको जिम्मेवारीबाट बिदा भएको छु।'