पोखरा : राष्ट्रिय फोटो पत्रकार समूह कास्कीले गरेको एक कार्यक्रममा सहभागीले फोटो पत्रकारको बिमा हुनुपर्नेमा जोड दिएका छन्।
१७७ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आयोजित फोटो पत्रकारिताको महत्व र चुनौती विषयक अन्तरक्रियामा सहभागीले फोटो खिच्ने क्यामेराको बिमा हुने तर क्यामेरा चलाउने पत्रकारको बिमा नहुनु दुःखद भएको बताए।
फोटो पत्रकारितालाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिँदै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले हजारौँ शब्दमा लेखिएका कुराभन्दा एउटै फोटोले पार्ने प्रभाव महत्वपूर्ण हुने बताए।
'पछिल्लो प्रविधिको विकाससँगै अनलाइन पत्रकारिता, ब्लग र छापा पत्रकारितालाई मात्र नभई सामाजिक सञ्जालमा फोटोको प्रयोग व्यापक हुने गरेको छ,' उनले भने।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सञ्चार गृह सञ्चालकले लाखौँ रुपैयाँ लगानी गरेर सञ्चारमाध्यम सञ्चालन गरे पनि धेरैले अझै फोटो पत्रकारिताको महत्व बुझ्न नसकेको धारणा राखे।
नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेलले फोटो पत्रकारिताको महत्व बढ्दै गएकै कारण यो एउटा छुट्टै बिटका रुपमा स्थापित बनेको बताए।
सन् १८३९ अक्टोबर १९ बाट विश्वमा फोटोग्राफी दिवस मनाउन थालिए पनि नेपालमा भने १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक तस्बिर छापिएको दिनलाई फोटो पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ।