
काठमाडौं : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।
उनले आज सेभेन रेस् कोर्सस्थित प्रधानमन्त्री निवासमा मोदीसँग शिष्टाचार भेट गरी छलफल गरे। भेटमा उनले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोपत्र हस्तान्तरण गरेका छन्।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै नेपाल-भारत सम्बन्ध लगायतका विषयमा दुईबीच छलफल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको 'विशेष दूत'का रुपमा निधि यतिबेला भारत भ्रमणमा छन्। भदौ २ गते भारत गएका निधिले उच्चस्तरीय भेट गरेका छन्। यसअघि राष्ट्रपति प्रणव मुखर्जी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराजसँग उनले छलफल गरिसकेका छन्।
मन्त्रिपरिषद्को साउन २७ गतेको बैठकले विशेष दूतका रुपमा निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको थियो। महरा भने आज स्वदेश फर्किएका छन्।