
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेपाल आउन इच्छुक रहेको बताएका छन्।
भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग आज भएको भेटमा उनले आफू नेपाल आउन इच्छुक रहेको स्पष्ट पारे।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको 'विशेष दूत'का रुपमा भारत भ्रमणमा रहेका निधिले सेभेन रेस् कोर्सस्थित प्रधानमन्त्री निवासमा मोदीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा उनले मोदीलाई नेपाल भ्रमणको निम्तोपत्र हस्तान्तरण गरेका छन्।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै नेपाल-भारत सम्बन्ध लगायतका विषयमा दुईबीच छलफल भएको छ। निधिसँगको भेटवार्तामा प्रधानमन्त्री मोदीले भारतले नेपालको शान्ति, स्थायित्व र विकास हेर्न चाहेको बताएका छन्।
४५ मिनेट लामो भेटवार्तामा मोदीले संविधान जारी भएपछि नेपालको राजनीतिक अवस्थाको बारेमा चासो व्यक्त गरेका थिए। जवाफमा मन्त्री निधिले संविधानमा असन्तुष्ट राख्ने मधेसी मोर्चाको माग सम्बोधन गर्नेगरी छिट्टै संशोधन प्रस्ताव अघि बढाइनेबारे विश्वास दिलाएका थिए।
संविधान कार्यान्वयनमा भारतको सहयोग, द्वीपक्षीय सम्बन्ध सुधारका साथै दुई मुलुकबीच उच्चस्तरीय भ्रमण गराउने विषयमा निधीले मोदीसँग कुराकानी गरेका छन्। मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संविधान कार्यान्वयन भएर नेपालमा विकास भएको हेर्न हामी आतुर छौं।’
निधिले प्रधानमन्त्री मोदीलाई जनकपुर, मुक्तिनाथ र लुम्बिनीमा धार्मिक भ्रमण गराउने बारेमा विशेष आग्रह गरेका थिए। जवाफमा उनले उपयुक्त समयमा नेपाल भ्रमणमा आउने आश्वासन दिए।
भेटमा भारतको तर्फबाट मोदीसँगै विदेश सचिव एस जयशंकर, सुरक्षा सल्लाहकार अजित दोभल र नेपालका लागि भारतीय राजदूत रञ्जित राय रहेका थिए भने नेपालको तर्फबाट मन्त्री निधिका साथमा भारतका लागि कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल थिए।
भदौ २ गते भारत गएका निधिले उच्चस्तरीय भेट गरेका छन्। यसअघि उनले राष्ट्रपति प्रणव मुखर्जी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराजसँग छलफल गरिसकेका छन्।
मन्त्रिपरिषद्को साउन २७ गतेको बैठकले विशेष दूतका रुपमा निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको थियो। महरा भने आज स्वदेश फर्किएका छन्।