PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण सरकारको उच्च प्राथमिकतामा



रासस

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण सरकारको उच्च प्राथमिकतामा

काठमाडौं : चीनका राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री ली खछयाङले नेपालको भ्रमण गर्ने भएका छन्।
 
छिमेकी मित्रराष्ट्र चीनका यी उच्चस्तरीय अधिकारीबाट निकट भविष्यमै हुन लागेको भ्रमणलाई नेपालले उच्च प्राथमिकतामा राखेको छ। भ्रमणका लागि दुवै देशले आ–आफ्ना परराष्ट्र मन्त्रालयलाई तम्तयार रहन निर्देशन समेत दिएका छन्।
 
आफ्नो पाँच दिने चीन भ्रमण सकेर आज स्वदेश फर्किएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका राष्ट्रपति र प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्नेबारे जानकारी गराए।
 
भ्रमणको तिथिमितिबारे छिट्टै उच्चस्तरीय बैठक र सल्लाह गरी तय गरिने महराले बताए।
 
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा मन्त्री महरा साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म चीनको भ्रमण गरी आज फर्किएका हुन्।
भ्रमणका क्रममा उनले चिनियाँ प्रधानमन्त्री खछयाङसँग भदौ १ गते बेइजिङमा विशेष भेटवार्ता गरेका थिए। सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति र आफूले शीघ्र नेपाल भ्रमण गर्न उत्सुक रहेको बताएका थिए। प्रधानमन्त्री लीले नेपालमा नयाँ संविधान जारी भएपछि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा नयाँ ढोका खुलेको भन्दै नेपालको आर्थिक एवम् सामाजिक विकासमा चीनले दिँदै आएको सहयोगलाई निरन्तरता दिने जानकारी गराएको महराले बताएका छन्।
 
'चीनका प्रधानमन्त्री लीले आगामी दिनमा नेपाल र चीनबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको बताउनुभयो,' महराले सञ्चारकर्मीसामु भने। साथै उनले आफ्नो चीन भ्रमण सफल र फलदायी रहेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell