
काठमाडौं : नेपाल विद्यार्थी सङ्घका नवनिर्वाचित पदाधिकारीले आफूहरु राजनीतिक मुद्दाभन्दा शैक्षिक विषयमा केन्द्रित भएर काम गर्ने बताएका छन्।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको बधाई कार्यक्रममा उनीहरुले अबको नेविसङ्घले राजनीतिक दिशा परिवर्तन गरेर वर्गीय शिक्षाका मुद्दा उठान गर्ने बताए।
अध्यक्ष नैनसिंह महरले आफ्नो दुईवर्षे कार्ययोजना पेस गर्दै आफूहरु शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकता निःशुल्क गराउन पहल गर्ने बताए। उनले देशमा जातीय, क्षेत्रीय र धार्मिक सहिष्णुता कायम गराउने खालको शिक्षा नीति आफूको माग भएको बताउँदै नैतिकतामा आधारित व्यावहारिक शिक्षामा जोड दिए।
छात्रातर्फकी निर्वाचित उपाध्यक्ष उर्मिला थपलियाले निजी र सरकारी विद्यालयबीचको खाडल, चन्दा आतङ्कजस्ता विषयमा आफूको ध्यान केन्द्रित हुने बताइन्।
महामन्त्री सरोजकुमार थापाले अध्यक्ष र अन्य पदाधिकारीले महाधिवेशन दौरान उठाएका मुद्दा बन्दसत्र नभएकाले छलफल हुन नपाएकामा दुःख व्यक्त गर्दै अब नेविसङ्घको पहिलो बैठकबाट पारित गराउने प्रतिबद्धता जनाए। उने आठौँ शिक्षा संशोधन ऐन सही रुपमा कार्यान्वयन गर्न अग्रसर हुने बताउँदै सङ्गठनभित्र अपारदर्शी काम गर्ने सबैलाई अनुशासनको कारबाही गर्ने दृढता व्यक्त गरे।
अर्का महामन्त्री कुन्दनराज काफ्लेले आन्तरिक लोकतन्त्रको सुदृढीकरण, योग्यता र क्षमताको प्रतिस्पर्धा जस्ता कुरामा आफूले जोड दिने बताएका छन्।