PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

उत्तरकोरियाबाट भागेकी एक महिलाको पीडादायी बयान जसलाई चीनमा श्रीमतीका रुपमा बेचियो



पहिलोपोस्ट

उत्तरकोरियाबाट भागेकी एक महिलाको पीडादायी बयान जसलाई चीनमा श्रीमतीका रुपमा बेचियो

  • जि ह्युन पार्क -
आफ्नै नागरिकविरुद्ध चीनको मानवअधिकार हनन कुनै गोप्य विषय हैन। तर आफ्नो देशमा मानवअधिकार हननबाट बच्न चीन भाग्ने उत्तर कोरियाली महिलाप्रति भएको दुर्व्यवहार भने धेरैलाई थाहै नदिई लुकाइएको छ। यद्यपि मलाई भने सत्य थाहा छ। किनभने म त्यस्ती महिलामध्ये एक हुँ। 

९० को दशकमा उत्तर कोरियामा ठूलो भोकमरी फैलिएपछि उत्तर कोरियालीहरु, विशेषगरी महिलाहरुको मानव तस्करी चीनमा गर्नु एउटा ठूलो व्यापार बन्न पुग्यो। आफ्नो परिवारका सदस्यहरु भोकमरीबाट मरेको देखेका महिलाहरु दलालको सहयोगले सीमा पार गर्छन्। यी महिलाहरुले खोजेका मौका विरलै पाउँछन्। बरु उनीहरु एउटा थप संकटमा पर्न जान्छन्- उनीहरु चिनियाँ पुरुषकी श्रीमतीका रुपमा बेचिन्छन्। 

चीनमा उत्तर कोरियाली श्रीमतीको ठूलो माग छ। तीव्र औद्योगिकिकरणका कारण गाउँका चिनियाँ महिला सहरतिर अझ देशबाहिर तिर लागेका छन्। जसका कारण पुरुषहरुलाई बिहेका लागि केटी खोज्न निकै गाह्रो भएको छ। त्यसैले धेरै जना उत्तर कोरियाबाट श्रीमती ल्याउन दलालहरुलाई रकम दिन तयार छन्। 

तस्करी गरी ल्याइएका महिलाहरुले बिहे गर्न नमाने त्यस्ता दलालहरुले उनीहरुलाई सरकारी अधिकारीसमक्ष उजुरी गरिदिने भनी धम्क्याउँछन्। पत्ता लागेमा उनीहरुलाई फेरि उत्तर कोरियातिरै फर्काइन्छ। त्यतिमात्र हैन उनीहरु महिलाको परिवारसमेत सुरक्षित नहुने भनी धमक्याउँछन्। यस्ता धम्कीबाट विवश भएर ती महिलाहरु चिन्दै नचिनेको मानिससँग बिहे गर्न बाध्य हुन्छन्। 

मेरो भगाईको कथा सुरु हुन्छ १९९८ मा। मेरो दाजु सेनामा थिए तर अवैध रुपमा सुनको तस्करी गरेको फेला परेपछि शिविरबाट भागे। सेनाका प्रहरी हाम्रो घरमा दाजुलाई पक्रन कुरेर बसेका थिए। मेरा पिता साह्रै बिरामी थिए। उनले भने, दाइलाई लिएर अन्तै जाऊ। म बुबालाई चीसो कोठामा मर्नका लागि छाडेर जान बाध्य भएँ। मलाई थाहा छैन उनलाई कहाँ गाडिएको छ। 

मेरो दाजु र मैले टुमेन नदी पार गरेँ, यही नदीले नै उत्तर कोरियाको सीमा चीनसँग छुट्याउँछ। एक जना दलालले मलाई मेरो दाजुलाई बचाउन पैसा चाहिने बताएकोफ थियो। त्यसैले म एक चिनियाँ पुरुषका लागि ५ हजार युआन (८ सय अमेरिकी डलर) मा बेचिएँ। त्यसपछि मैले मेरो दाजुलाई कहिल्यै देखिनँ। 

तस्करी गरिएका अरु उत्तर कोरियाली महिला जस्तै मेरो नयाँ जीवन पनि समस्याग्रस्त भयो। म जस्ता महिलाहरु दासका रुपमा काम गर्न बाध्य बनाइन्छन् र अक्सर यौन हिंसाका शिकार हुन्छन्। उत्तर कोरियाली श्रीमती किन्ने पुरुषहरुले उनीहरुलाई सम्पति वा खेलौनाका रुपमा व्यवहार गर्छन्। उनीहरुलाई डिनर टेलबमा खान रोक्छन्। आधारभूत आवश्यकता र अधिकारहरुबाट उनीहरुलाई वञ्चित गराइन्छ। यदि महिला घाइते भए वा मन परेन भने पुरुषहरुले उनीहरुलाई फेरि बेचिदिन्छन्। 

अवैध आप्रवासीका रुपमा उनीहरुको स्टायटस रहने भएकोले तस्करी गरिएका उत्तर कोरियाली महिलाहरुले आफ्नो सुरक्षाका लागि केही गर्न पाउँदैनन्। उनीहरु वेश्यावृत्तिमा धकेलिने सम्भावना कायम रहन्छ। गर्भ बसेका महिलाहरुलाई गर्भपात गर्न भनिन्छ। बच्चा जन्माउने निर्णय गरेकाहरु, जस्तै कि मैले गरेँ, लाई स्थानीय अस्पतालमा बच्चा जन्माउन अनुमति दिइँदैन। हाम्रा बच्चाहरुलाई राज्यले पहिचान गर्दैन त्यसैले उनीहरु स्कूलमा जान वा स्वास्थ्य सुविधा पाउनबाट वञ्चित रहन्छन्। 

म बसेको गाउँमा पाँच जना उत्तर कोरियाली महिला थिए। सबैलाई तस्करी गरिएको थियो। उठ्ने बित्तिकै हामीलाई खेतमा काम गर्न पठाइन्थ्यो। यदि हामीले कसैलाई बाटोमा भेट्यौँ भने हेलो समेत भन्न पाउँदैन थियौँ। छिमेकीहरुले हामीलाई हेर्दा पनि हाम्रा ‘मालिक’हरु हामीलाई उनीहरुले भगाउन सहयोग गर्ने पो हुन् कि भनी डराउँथे। त्यसैले उनीहरु हामीलाई राम्रो जुत्ता पनि दिँदैन थिए, जाडोमा समेत। 
म दासीका रुपमा चिनियाँ पुरुषसँग ६ वर्षसम्म बसेँ। जब चिनियाँ अधिकारीहरुले सन् २००४ मा मलाई फेला पारे, उनीहरुले मलाई सीमा छेउको टुमेन डिटेन्सन सेन्टरमा पठाए। त्यहँ अरु थुप्रै उत्तर कोरियाली महिलाहरु थिए। पहिलो हप्ताको हरेक दिन पाँचदेखि सात जना ठूल्ठूला पुरुष गार्ड हाम्रो कोठामा छिर्थे र हामीलाई नाङ्गो हुन आदेश दिँदै खानतलाशी लिन्थे। उनीहरु हाम्रो गोप्य अङ्गमा पैसा लुकाएर त राखेको छैन भन्दै जाँच्थे। महिनावारी भएको बेलामा भए खुट्टामा रगत चुहिरहेको हुन्थ्यो। तर गार्डहरुले त्यसमा ध्यानै दिँदैन थिए। कहिलेकाहीँ गार्डहरु महिलाहरुको पछि पछि ट्वाइलेटमा जान्थे र पैसा खोज्ने प्रयास गर्थे। 

डिपोर्ट भएपछि मैले उत्तर कोरियाको एउटा श्रम शिविरमा छ महिना गुजारेँ। म रिहा हुँदा मेरो खुट्टामा रोग लागेको थियो। डाक्टरहरुले मलाई यो बाँच्दिन भन्ठानेका थिए। म घरवारबिहीन र सहाराविहीन थिएँ र सडकमा माग्दै हिँडेकी थिएँ। अनाथालायमा आश्रय खोज्दै हिँडेकी थिएँ। एक दिन एक जना डाक्टरले मलाई सडकमा देख्यो र मेरो खुट्टाको उपचार गोप्य रुपमा गर्ने बतायो। 

तर मेरो कथा सकिएको छैन। म फेरि चीन गएँ, अर्को दलालको माध्यमबाट- मेरो छोरा खोज्न। बेइजिङमा मैले अमेरिकन कोरियन पादरीलाई भेट्टाएँ। उनले मेरो परिवारलाई बेलायतमा शरण लिन सघाए। जहाँ मैले अन्ततः स्वतन्त्रता भेट्टाएँ। 

चीन (र अन्तर्राष्ट्रिय कानुनमा) मानव तस्करी गैरकानुनी हो। तर यो कानुन कडा रुपमा पालना गरिँदैन। दासका रुपमा व्यवहार गरिएका र दुर्व्यहार गरिएका आमाहरुला उनीहरुका सन्तानसँग भेट्न समेत दिइँदैन। 

म जस्ता मानिसहरु- क्रुर तानाशाहीबाट भागेका महिलाहरु अर्का क्रुरकहाँ तस्करीमात्र गरिन्छन्- चुपचाप दुर्व्यवहार सहनका लागि। विश्वले यस्ता कुरामा ध्यान नदिएसम्म उनीहरु सुरक्षाविहीन नै रहनेछन्- बिना आशाका। 

जि ह्युन पार्क तस्करीबाट जोगिएकी महिला हुन् र अहिले मानवअधिकारको वकालत गर्छन्। यो लेख हामीले प्रोजेक्ट सिन्डिकेटबाट भावानुवाद गरेका हौँ। फोटो उत्तर कोरियाली शरणार्थीको हो जुन हामीले asntown.net बाट साभार गरेका हौँ।  

© Project Syndicate 1995–2016
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell