PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बिना रुट-परमिटको गाडीमा रोक लगाइएपछि २० वटा बस चलेनन्, यात्रुलाई सास्ती



राधेश्याम पटेल

बिना रुट-परमिटको गाडीमा रोक लगाइएपछि २० वटा बस चलेनन्, यात्रुलाई सास्ती

वीरगन्ज : पर्सा, सुपौली–७ कोढवलीका दीनानाथ राय आज बिहान ११ बजे घर जानका लागि हतारिँदै वीरगन्जको रानीघाट पुगे। जब बस नचलेको थाहा पाए, उनी खङ्ग्रङ्ग भए।

छोरो र पत्नी रुखमिना देवीसँग झोला कसेर घर हिँडेका राय बसपार्कमै अलपत्र परेका छन्।

उनीजस्तै सयौं यात्रुहरु पर्साको ग्रामीण भेगमा दुई दिनदेखि बन्द भएको बस सेवाका कारण प्रभावित भएका छन्। शुक्रबारदेखि पर्सा प्रहरीले बिना रुट परमिटको गाडी सञ्चालनमा रोक लगाएपछि यात्रुहरु यसरी नै दु:ख भोग्न बाध्य छन्।

देशको विभिन्न ठाउँमा भइरहेको सवारी दुर्घटनाका कारण सावरी साधनको कागजात तथा सावरी क्षमतामा कडाइ गरिएको छ।  पर्साको स्वर्णपुर, निर्मलबस्ती, ठोरीबाट भरतपुरका लागि छुट्ने बसहरुको रुट परमिट चितवन प्रहरीले खोजेपछि त्यस तर्फबाट छुट्ने बस सेवा पनि ठप्प भएको छ।
 
नारायाणी यातायात बस व्यवसायी रानीघाट–वीरगन्ज उपसमितिका इन्चार्ज सुभाष पटेलका अनुसार पर्सामा चल्ने २० बसहरु अहिले बन्द गरिएको छ। पर्साको ग्रामीण भेगमा हाल वीरगन्ज–सेढवा, वीरगन्ज–देउरिया, वीरगन्ज–रंगपुर, वीरगन्ज–भिस्वा, वीरगन्ज–पाकाहामैनपुर र वीरगन्ज दशवता गरी ६ वटा रुटमा २० बस चल्ने गरेको थियो। त्यस्तै वीरगन्ज–पोखरिया सडकखण्डमा पनि दैनिक दुई दर्जन चल्ने बस सेवा ठप्प भएपछि यात्रुहरु बढी मर्कामा परेका छन्।

रुट परमिटको लागि यातायात व्यवस्था कार्यालय नारायणी वीरगन्जमा माग गर्दा ग्राभेल बाटोको लागि रुट परमिट दिन नमिल्ने भनी फर्काउने गरेको बस व्यवासायीहरुले बताएका छन्। यता, प्रहरीले सवारी साधनमा रोक लगाएपछि व्यापारीहरुले पनि विरोध जनाएका छन्। उनीहरुले आइतबार जिल्ला प्रमुख अधिकारी समक्ष यस विषयमा ज्ञापनपत्र बुझाउने बताएका छन्।

चितवन–नारायणी संयुक्त बस व्यवसायी संघका उपाध्यक्ष दीपक बरालले कच्ची सडकमा रुट परमिट दिने व्यवस्था नभएका कारण आफूहरुले अहिलेसम्म व्यावहारिक रुपमै बस सञ्चालन गर्दै आए पनि स्थानीय प्रशासनले रुट परमिट खोजेकाले शनिबारदेखि बस नचलाएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell