
काठमाडौं : इलाम समाज हङकङले मिर्गौलापीडित मानबहादुर राईको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराएको छ।
दुवै मिर्गौला खराब भई उपचारका क्रममा रहेका इलाम नगरपालिका-२ नारायणस्थानका राईका लागि समाजले ५५ हजार ८० रुपैयाँ सहयोग गरेको हो।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष दीपा एवाई राई, सल्लाहकार गणेश पराजुलीले इलामेली समाज काठमाडौंका अध्यक्ष राधेश्याम लेकालीलाई सहयोग रकमको चेक हस्तान्तरण गरे। सल्लाहकार पराजुलीले समाजका तर्फबाट व्यक्तिगत रूपमा सहयोग रकम संकलन गरिएको जानकारी दिए।
समाजका उपाध्यक्ष राईले सामाजिक तथा विकासका कार्यमा जिल्लासँग समन्वय गर्न पाउँदा ऊर्जा मिलेको उल्लेख गर्दै अक्षयकोष स्थापना गरी अघि बढेको जानकारी दिइन्।
विराटनगर, धरानलगायत पूर्वकै अस्पतालमा उपचारत राईको दुवै मिर्गौला प्रत्यारोपण गर्न १२ लाख लाग्ने चिकित्सकलाई उद्धृत गर्दै स्थानीय सन्तोषभक्त राजलवटले जानकारी दिए। उनका अनुसार करिब ७–८ लाख रुपैयाँ सहयोग संकलन भइसकेको छ।