PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

दाहसंस्कार गर्न लाग्दा मृतकको हातखुट्टा चलमलाएपछि मलामी चकित



रासस

बुटवल : सर्पको डसाइबाट मृत्यु भएका भनिएका एक व्यक्तिको दाहसंस्कार गर्न लाग्दा शरीरका अङ्ग चलाउन थालेपछि सबै चकित परेका छन्।
 
रुपन्देहीको सैनामैना नगरपालिका–९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले डसेको थियो। सर्पको डसाइपछि उनलाई तत्कालै उपचारार्थ लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
 
अस्पतालमा मृत्यु भएका जोखुलाई परिवारले राति नै घर लगेर आफ्नो संस्कारअनुसार आज बिहान कपिलवस्तुको लक्ष्मणघाटमा दाहसंस्कार गर्न लाग्दा उनले जीवित मानिसले झैं हातखुट्टा चलाउन थाले। यतिमात्रै होइन शरीरबाट पसिना निकाल्न थालेपछि सबै आश्चर्यमा परेका छन्।
 
अन्तत: दाहसंस्कारमा पुगेका मलामीले उनलाई पुनः भैरहवास्थित मेडिकल कलेज पुर्‍याए। भेन्टिलेटरमा राखेको करिब एक घण्टापछि त्यहाँका चिकित्सकले मृत्यु भएको घोषणा गरेको उनको दाहसंस्कारमा पुगेका एमाले जिल्ला सदस्य नरबहादुर थापाले जानकारी दिए।
 
चिकित्सकले मृत्यु घोषणा गरेका केही व्यक्तिमा अपवादको रुपमा यस्तो प्रतिक्रिया देखिने सम्भावना रहेको र यस्तो अवस्थालाई ‘रिगोर मोर्टिस’ मानिने लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विकास देवकोटाको भनाइ छ।

उनले अञ्चल अस्पतालमा उपचारार्थ ल्याइएका र चिकित्सकले मृत्यु घोषणा गरेका व्यक्तिमा देखिएको यस्तो अवस्थाका बारेमा आफूले यथार्थ बुझ्ने समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell