
म्यानचेष्टर सिटीले प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको दिन लिभरपुल भने बर्नलेसँग पराजित भएको छ।
शनिबार भएको खेलमा सिटीले स्टोक सिटीलाई ४-१ गोल अन्तरले हरायो। सिटीको जितमा सर्जियो एगुएरो र नोलिटोले समान २ गोल गरे। स्टोकका लागि बोजन र्किकले सान्त्वना गोल फर्काए।
प्रिमियर लिगकै अर्को खेलमा लिभरपुल बर्नलेसँग २-० ले स्तब्ध बनेको छ। बर्नलेकै घरेलु मैदानमा भएको खेलमा उसलाई जिताउन साम भोक्स र आन्द्रे ग्रेले पहिलो हाफमै गोल गरेका हुन्।
पहिलो चरणको खेलमा आर्सनललाई ४-३ ले हराएको लिभरपुलले दोस्रो खेलमा उस्तै खालको नतिजा दोहोर्याउन सकेन र पराजयको सामना गर्नुपर्यो।
यस्तै हल सिटी र चेल्सीले पनि लगातार दोस्रो जित हात पारेको छ। सिजनको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई पराजित गरेको हलले दोस्रो खेलमा स्वान्से सिटीलाई २-० ले हरायो। हलको जितमा सन मालोने र एवेल हर्नान्डेजले एक एक गोल गरे।
यता चेल्सीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै वाटफोर्डलाई २-१ ले हरायो। चेल्सीका लागि फेरी एक पटक डिएगो कोस्टा नायक बने।
५५ औं मिनेटमा वार्टफोर्डले एटियाने कपाउको गोलमार्फत अग्रता लिएपनि चेल्सीले अन्तिम दश मिनेट भित्र दुई गोल फर्काएको हो। ८३ औं मिनेटमा मिची बात्सुई र ८७ औं मिनेटमा कोस्टाले गोल गरेपछि चेल्सीले जित हासिल गरेको हो।
डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी र आर्सनलले भने दोस्रो खेलमा पनि जित हात पार्न सकेनन्। लेस्टरको मैदानमा भएको खेलमा लेस्टर र आर्सनलले गोल रहित बराबरी खेल्दै अंक बाँडे।
अन्य खेलमा टोटनहम हट्सपरले क्रिस्टल प्यालेसलाई १-० ले तथा एभरटनले वेष्ट ब्रोमिच अल्विओनलाई २-१ ले पराजित गरेको छ।
प्रिमियर लिग अन्तर्गत आज सन्डरल्याण्ड र मिडल्स्ब्रो तथा वेस्टहम युनाइटेड र एएफसी बर्नमाउथबीच खेल हुनेछ।