PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

​के हुँदैछ रतन र पवन संघाईको अनुसन्धान?



सविन ढकाल

​के हुँदैछ रतन र पवन संघाईको अनुसन्धान?

काठमाडौं : लागू औषधको कारोबारमा संलग्नता रहेको भनिएका बारा गढिमाई ७ जीतपुरमा रहेको आर्य फर्मा ल्याब प्राइभेट लिमिटेडका सञ्चालक पवन संघाई अहिले पनि फरार छन्। प्रहरीले करिब एक महिनादेखि खोजी गरे पनि उनलाई पक्रन सकेको छैन। फरार भएका पवन संघाई भारतमा लुकेर बसेको अनुमानबाहेक प्रहरीसँग अरु केही सुराक छैन।

आर्य फर्माले करिब ४ वर्षदेखि लागू औषधका लागि आवश्यक सिउडोइफेड्रिन नामक औषधीको कारोबार गरेको तथ्य बाहिर आएको हो। लागू औषध नियन्त्रण व्युरोका एसएसपी गणेश केसीले अहिले फरार रहेका आर्य फर्माका संचालक पवन संघाइको खोजी भइरहेको जानकारी दिए। त्यस्तै ललितपुर उपहामनगरपालिका ६ पाटन औद्योगिक क्षेत्रमा संचालित प्लास्टिक उद्योगका संचालक रतन संघाईलाई प्रहरीले तीन साता अघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। संघाईले सञ्चालन गरेको उद्योगबाट प्रहरीले लागू औषध बनाउन प्रयोग हुने ४ सय ७१ किलोग्राम सिउडोइफेड्रिन बरामद गरेको थियो। व्युरोका एसएसपी केसी भन्छन्, 'हामी संघाईको अन्तर्राष्ट्रिय लागू औषध कारोबारको थप प्रमाण जुटाउँदैछौं, सबै प्रमाण जुटे र अर्का फरार अभियुक्त पवन संघाई पक्राउ परेपछि अदालतमा मुद्दा अघि बढाउँछौं।'

प्रहरीले अनुसन्धानलाई प्रभावकारी र विश्वसनीय बनाउन ललितपुर जिल्ला अदातलबाट दोस्रो पटक १५ दिनको म्याद लिएको थियो। प्रहरीले थप गरेको १५ दिनको म्याद भदै ८ गते सकिँदैछ। यसअघि प्रहरीले अनुसन्धानको लागि थप ४ दिनको म्याद लिइसकेको छ। कुनै पनि अनुसन्धानको लागि प्रहरीले अदालतबाट ९० दिनसम्म यसरी नै म्याद लिन पाउने भएकाले अहिले नै अदातलमा मुद्धा नचलाउने प्रहरीको भनाई छ। केसी भन्छन्, '९० दिनसम्म हामी सुक्ष्मरुपमा अनुसन्धान गर्छौं र फरार अभियुक्त संघाइलाई पक्राउ गर्ने कोसिस गर्छौं त्यसपछि के हुन्छ हेरौं।'

प्रहरीले पवन संघाई र रतन संघाइको नाममा रहेको सम्पूर्ण बैक खाता तथा लकर समेत बन्द गराइसकेको छ। प्रहरीले संघाई प्लाष्टिक उद्योगबाट बरामद गरेको लागू औषध बनाउन प्रयोग हुने सिउडोइफेड्रिनका अन्तर्राष्ट्रिय बजार मूल्य १ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढी हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell