PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​६ ठाउँमा गोली लागेको गैडा चितवनमा लगेर छाडियो



रासस

चितवन : रौतहटको तिलेश्वर सामुदायिक वनमा गोली लागी घाइते अवस्थामा भेटिएको एकसिङ्गे गैंडा आज चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ।
 
चन्द्रपुर–२, गैंडाटारको सो सामुदायिक वनमा शनिबार बिहान घाइते अवस्थामा गैंडा फेला परेको थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार सो गैंडालाई सौराहाको गैंडा क्याम्पमा छाडिएको छ।
 
गैंडाको चिकित्सकको प्रत्यक्ष निगरानीमा आजैदेखि थप उपचार सुरु गरिने उनले बताए। प्राथमिक उपचार गरेर शनिबार बेलुकादेखिको प्रयासपछि गरेर गैंडा बेहोस बनाई ट्रकमा राखेर सो वनबाट आज बिहान ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए।
 
उनका अनुसार सो भाले गैंडालाई छ ठाउँमा गोली लागेको छ । नौदेखि १२ इन्चसम्म गहिरो घाउ बनेर गोली छिरेको उनले बताए।  झन्डै एक वर्षयता १५ वर्ष उमेरको सो गैंडा सोही सामुदायिक वनमा बस्दै आएको स्थानीयवासीलाई उद्धृत गर्दै चौधरीले बताए।
 
उनले भने “यो गैंडा स्थानीयवासीसँग चिरपरिचित भइसकेको रहेछ। धान खान गाउँ जाने, गाउँलेले खेदेपछि जङ्गल छिर्ने गर्दै आएको रहेछ।” स्थानीयवासीका अनुसार सोही सामुदायिक वनमा गत वर्ष दुई गैंडा पनि देखिएका थिए।
 
निकुञ्जसँग नजोडिएको भए पनि पर्सा वन्यजन्तु आरक्षबाट सो क्षेत्रमा गैंडा गएको हुन सक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।  रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell