PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

यसरी खुल्यो सामान्य मानिसले सोच्नै नसक्ने एउटा भयावह हत्याकान्डको रहस्य : आफ्नै आमाको हत्या



सविन ढकाल

यसरी खुल्यो सामान्य मानिसले सोच्नै नसक्ने एउटा भयावह हत्याकान्डको रहस्य : आफ्नै आमाको हत्या

काठमाडौँ : 'मेरी आमा देखिनुभएको छैन, तपाईँले कतै देख्नुभयो कि?'

बुद्धिबहादुर खत्री गाउँमा यसो भन्दै आमा हराएको सोधीखोजी गर्दै थिए। गाउँले छक्क परेका थिए। एक दिनअघिसम्म घरमै देखिएकी ६५ वर्षकी देउती खत्री आखिर गइन् कहाँ?

छोरा फेरि हरायो भन्दै गाउँमा हल्लामात्रै गर्दै हिँड्ने। प्रहरीमा उजुरी चाहिँ नगर्ने। गाउँलेले बुद्धिबहादुरलाई प्रहरीकहाँ उजुरी गर्न दबाब दिए। भदौ १ गते उनले प्रहरीमा उजुरी दर्ता गरे। 

उजुरी परेपछि प्रहरीले अनुसन्धान थाल्यो अनि खुल्यो सामान्य मानिसले सोच्नै नसक्ने एउटा भयावह हत्याकान्डको रहस्य। 

****

६५ वर्षकी देउती खत्री श्रीमानको निधनपछि दुई छोराको साथमा जीवन बिताइरहेकी थिइन्। पतिको वियोगमा जीवन काटिरहेकी खत्रीलाई अर्को बज्रपात आइलाग्यो- आफूलाई असाध्यै माया गर्ने जेठा छोराले पनि उनलाई छोडेर गए।  केही वर्षअघि भिरबाट खसेर उनका जेठा छोराको मृत्यु भयो।

छोराको निधनले मात्र देउतीको विछोडको श्रखला भने रोकिएन। जेठो छोराको निधन भएको केही समय मात्रै भएको थियो, जेठी बुहारीले पनि यो संसारबाट सदाको लागि आँखा चिम्लिन्।

पति, जेठा छोरा-बुहारीले छोडेर गएपछि बुढेसकालको सहारा कान्छा छोरा बुद्धिबहादुर नै बनेका थिए। आमाबुबा गुमाएका देउतीका एक नाति र नातिनी टुहुरा जस्तै बने। बुबाआमा बितेपछि काका-काकीको व्यवहार नराम्रो भएपछि उनीहरु सँगै बस्न सकेनन्।

त्यसपछि उनीहरु आफै मजदुरी गरेर स्वतन्त्रको जीवन जिउन थाले। देउतीका नाति भारतमा मजदुरी गरिरहेका छन् भने  एक नातिनी नेपालगञ्जमा अर्काको घरमा भाडा माझेर सास बचाइरहेकी छिन्। देउती भने कान्छा छोराबुहारीसँग नै बस्दै आएकी थिइन्।

जाजरकोट जिल्लाको सक्ला गाविस १ लैखममा देउतीको घर छ। एउटा ठूलो घर, घर नजिकै गोठ। देउतीका छोराबुहारी ठूलो घरमा र उनी भने गोठमा बस्दै आएकी थिइन्।

जेठा छोराबुहारीले देउतीलाई जति माया र ममता दिन्थे, उनले त्यस्तो कान्छा छोराबुहारीबाट पाउन सकिनन्। कान्छा छोराबुहारीबीच देउतीको बेला बेलामा ठाकठुक पर्ने गरेको थियो।

कान्छा छोरा बुद्धिबहादुरका ४ सन्तान छन्। कान्छो सन्तान भर्खर डेढ वर्षका भए। सरकारले ल्याएको राष्ट्रिय गौरवको योजना नलसिंहगाड जलविद्युत आयोजना देउती कै जग्गा भएका ठाउँमा पर्छ।

उनको दुई रोपनी जग्गा सरकारले अधिग्रहण गरी प्रति रोपनी ४ लाखका दरले मुआब्जा दिने निर्णय गरेको छ। एकाएक जग्गाको भाउ बढेपछि देउती खुसी थिइन्। देउतीसँगै उनका कान्छा छोरा बुद्धिबहादुर पनि गजक्क थिए।

देउतीको अंश खाने अब बुद्धिबहादुर मात्र थिए। बुबाको मृत्यु भएपछि २ रोपनी जग्गाको हकदार आमा नै थिइन्। उनले आमाको नाममा रहेको जग्गा आफ्नो नाम गर्न आमालाई पटक-पटक भने। तर उनले मानिनन्। म जिउँदो हुँदासम्म कसैलाई जग्गा दिन्नँ समेत भनिन्।

खत्री परिवारमा जग्गाको विषयलाई नै लिएर सँधै किचलो भइरहन्थ्यो। जग्गा पाउनको लागि बुद्धिबहादुरले केही समयदेखि आमालाई देखावटी मायासमेत गर्न थालेको थियो। स्याहारसुसारमा ध्यान दिन थालेका थिए, बुहारीले पनि मिठो पकाउने खुवाउने गर्न थालेकी थिइन्।

आमाको मन न हो पग्लिन केही बेर लागेन। उनले जग्गा छोराको नाममा पास गर्ने निर्णय गरिन्। जग्गा पास गर्न मालपोत कार्यालय पनि पुगिन्।

जग्गा आफ्नो नाममा आउने भएपछि बुद्धिबहादुर पनि दंग थिए। तर मालपोत कार्यलयमा पुगेपछि जेठा छोराका सन्तान भएकाले कान्छो छोरालाई पास गर्न नमिल्ने बताइयो। देउतीले त्यतिखेर नातिनातिनालाई सम्झिइन्। अनि उनको निर्णय बदलियो।

आमाले जग्गा पास नगर्ने भएपछि कान्छा छोराबुहारीको व्यवहारमा नै परिवर्तन हुन थाल्यो। यतिमात्र हैन छोराबुहारीले भित्र-भित्र आमालाई मार्ने षड्यन्त्र  समेतरच्न थाले।

आमालाई मारेर गाड्नको लागि बुद्धिबहादुरले साउन २१ गते घर नजिकै करिब १ मिटर गहिरो खाल्डो खने। आमालाई मार्ने नियतले साउन २२ गते छोराबुहारीले देउतीलाई माया देखाउँदै आफै सुत्ने घरमा बोलाएर सुताए। सासुबुहारी भित्र सुते, छोरा बाहिर। सासुआमा सुते/नसुतेको बुहारीले विचार गरिरहिन्।

रातको करिब ९ बजेपछि आमा निदाएको थाहा पाएपछि उनले बाहिर सुतेका आफ्ना लाग्नेलाई बोलाएर आमा निदाएको जानकारी दिइन्। छोरा बन्चरो लिएर भित्र गए। मस्त निन्द्रामा रहेकी आमालाई बन्चरोले पछाडिको भागमा हिर्काए। बन्चरोले लागेपछि देउतीको टाउकोबाट रगत बग्न थाल्यो। उनी अन्तिम सास लिँदै छट्पटाउन थालिन्। तर राक्षसरुपी कलियुगका छोराले आमा नमरेको भन्दै अनेकौ पटक प्रहार गरे।

सास रोकिएपछि मृत आमाको नाकको फुली र सुन निकाले। टाउकोमा लुगा बेरेर एक दिनअघि नै खनेको खाल्डोमा गाडे। कसैले थाहा नपाउन् भनेर आमालाई खाल्डोमा गाडेपछि सिमलको बिरुवासमेत रोपे।

आमाको हत्या गरेपछि उनै आमा हराएको भन्दै गाउँघरमा खोज्दै हिँड्न थाले। उनले केही दिनसम्म पनि प्रहरीमा उजुरी दिएनन्। प्रहरीमा उजुरी नदिई एक्लै खोज्न थालेपछि छिमेकीले शंका गर्न थाले। छिमेकीको दबाबमा बुद्धिबहादुरले भदौ १ गते बल्ल प्रहरीमा उजुरी दिए।

उजुरी परेपछि प्रहरीले खोजी कार्य गर्‍यो। अन्ततः प्रहरीले उनको घर नजिकै नै देउतीको शव गाडेको अवस्थामा फेला पार्‍यो। छिमेकीको शंकामा उनका छोरालाई नै हत्याको अभियोगमा नियन्त्रणमा लिइयो। शुरुमा बुद्धिबहादुरले आमा आफैले आत्महत्या गरेकाले आफूले गाडेको मात्र बताए। प्रहरीको केरकारपछि बल्ल उनले आफ्नो कर्तुत स्वीकारे।

(जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले दिएको जानकारीका आधारमा। यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बुद्धिबहादुर र उनकी पत्नीलाई अहिले प्रहरीले अनुसन्धानका लागि आफ्नो नियन्त्रणमा राखेको छ।) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell