PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

​ला लिगा : रियल मड्रिडले विजयी सुरुवात गर्दा एथ्लेटिको मड्रिड बराबरीमा रोकियो



पहिलोपोस्ट

​ला लिगा : रियल मड्रिडले विजयी सुरुवात गर्दा एथ्लेटिको मड्रिड बराबरीमा रोकियो

रियल मड्रिडले स्पानिस ला लिगामा विजयी सुरुवात गरेको छ। सोमबार बिहान सम्पन्न खेलमा रियलले रियल सोसिडाडलाई ३-० ले पराजित गरेको छ। 

क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रेको रियलका लागि गारेथ बेलले २ तथा मार्को असेन्सिओले एक गोल गरे। सोसिडाडको मैदानमा खेल सुरु भएको ७२ औं सेकेण्डमै बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका हुन्। ४० औं मिनेटमा असेन्सिओले गोल गरेपछि रियलले पहिलो हाफमै अग्रता दोब्बर बनायो।

खेल सुरु हुने बित्तिकै गोल गरेका बेलले खेलको अन्त्यतिर व्यक्तिगत दोस्रो गोल गरे। बेलले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै रियललाई ३-० को जित दिलाएका हुन्। 

रियलले जित हात पारेको दिन एथ्लेटिको मड्रिड भने नवप्रवेशी अलाभेससँग १-१ गोलको बराबरीमा रोकिएको छ। दुवै गोल अन्तिम समयमा सम्भव भएको खेलमा केभिन गमेइरोले पेनाल्टीमा गोल गर्दै एथ्लेटिकोलाई पहिले अग्रता दिलाएका थिए।

तर इन्जुरी टाइमको पनि अन्तिम समयमा मानु गार्सियाले गोल गरेपछि अलाभेस एथ्लेटिकोसँग अंक खोस्न सफल भयो।

ला लिगाकै अर्को खेलमा एथलेटिक विल्वाओ स्पोर्टिङ गिहोनसँग २-१ ले पराजित भएको छ।

ला लिगा अन्तर्गत आज पहिलो चरणका अन्तिम दुई खेल हुँदैछन्। जसमा सेल्टा भिगोले लेगानेस र भ्यालेन्सियाले लास पालमससँग प्रतिस्पर्धा गर्नेछ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell