PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

'अहिले पनि 'द्रौपदी'को वस्त्र उतारेर आनन्द लिने 'दुशासन'हरु यत्रतत्र छन्'



फणीन्द्र संगम

'अहिले पनि 'द्रौपदी'को वस्त्र उतारेर आनन्द लिने 'दुशासन'हरु यत्रतत्र छन्'

काठमाडौं : सासूआमाको सातौं दिनको किरिया चल्दै थियो, बुटवलमा।
 
सामाजिक सञ्जालबाट थाहा पाएर हो या कसैले खबर गर्‍यो, श्रीमान् भाष्करलाई। उनैले खुसुक्क सुनाए नीलमलाई, 'चीरहरण मदन पुरस्कार मनोनयनको उत्कृष्ट सातभित्र परेछ नि।'
 
आमा गुमाएका भाष्कर एकसरो श्वेतवस्त्रमा थिए। खुसीको यो खबर सुनाउँदा मुस्काउने चेष्टा त गरे तर सकेनन्।
 
सात दिनदेखिको दु:खको एकसरो वस्त्रमा रहेकी नीलमको अनुहारमा उत्साहको कुनै चमक देखिन्न थियो। भाष्करकै जस्तै— कुनै ऊर्जा थिएन।
 
श्रीमानले खुसीको खबर सुनाउनासाथ उनलाई 'ए हो र’ भन्नेमात्र लाग्यो। खुसी व्यक्त गर्ने कुनै मेसो नै पाइनन्।
 
'कुनै दु:खको पहाड यति अग्लो हुन्छ, त्यसको सामु जस्तोसुकै सुख पनि साना र नगन्य लाग्दा रहेछन्,' उनी सम्झिन्छिन्, 'यस्तो बेला म मुस्कुराउन सक्ने अवस्थामै थिइनँ।'
 
'चीरहरण’ उपन्यासकी लेखिका नीलम कार्की निहारिकाले दरबारमार्गस्थित एक क्याफेमा भने खुलेरै कुरा गरिन्, 'धेरै पाठकहरुले चीरहरणलाई माया गरिदिनुभएको छ। यो नै मेरो लागि ठूलो कुरा हो।'
 

कलियुगमा द्वापर युगका पात्र!


२०४८ साल।
 
भेरी अञ्चल अस्पताल, नेपालगन्ज।
 
नर्सिङ अध्ययनका क्रममा थिइन् नीलम। एकाएक सनसनी खबर फैलियो— एयरपोर्ट नजिकै झाडीमा नवजात शिशु फेला परेको छ।
 
त्यही बेवारिसे बच्चालाई प्रहरीको टोलीले उपचारका लागि अस्पताल ल्यायो। भरखरै जन्माएर फालिएको बच्चाको उपचारमा चिकित्सकको टोलीसँगै नीलम पनि जोडिइन्। सक्दो प्रयास पनि गरियो तर तेस्रो दिन बाआमाको न्यानो स्पर्श समेत नपाई बच्चाले संसार छाड्यो।
 
कुनै महिलाले जन्माएर सो बच्चा फालेको प्रहरीले पत्तो त लगायो तर त्यो अवस्थासम्म ल्याइपुर्‍याउन महिलाको मात्र दोष देख्दिनन् नीलम। 'समाजमा हस्तक्षेप गरिरहेको पुरुष मनोवृत्तिको शेष पनि त्यहाँ थियो। त्यो घटनाले समाजको विद्रूपतामाथि एकखालको घृणा जागेर आयो,’ उनको स्मृतिमा आलै छ, ‘कपडामा लपेटेर त्यो मृतक बच्चा प्रहरीकै जिम्मा लगाइदिएँ।’
 
त्यसपछि त दिनहुँजसो रेडियो, टिभीमा बलात्कारका घटना, नारीमाथिका विभिन्न हिंसाका समाचार सुन्न थालिन्। सायद त्यसपछि मात्रै उनले यस्ता घटनामा बढी चासो राख्न थालिन् र नोटिस गर्दै गइन्।
 
यस्तै समाचार र घटनाले नै उनलाई महाभारतको द्रौपदीसम्म पुर्‍यायो। जसको वस्त्रहरणको कथा आमाले सानो छँदा सुनाएकी थिइन्।
 
पाल्पाको झडेवामा छँदा नीलमकी आमा स्कुल पढाउँथिन्। टिभीको सुविधा थिएन। गाउँमा पत्रपत्रिका पुग्ने त कुरै भएन। बेलुका गाउँले र छरछिमेकी भेला हुने, गफगाफ गर्ने अनि लोककथा सुनाउने चलन जस्तै थियो।
 
आमाले पटकपटक सुनाएका रामायण र महाभारतका कथा उनको कलिलो मस्तिष्कमा गड्दै जान थाल्यो। ‘त्यहाँका नारी पात्रले गरेको संघर्ष र दु:खले निकै सताउँथ्यो। आफ्नै कुलघराना भित्रैबाट किन त्यस्तो शोषण गरिएको होला भन्ने लागिरहन्थ्यो,’ उनलाई त्यो बेला पनि लाग्दो रहेछ, ‘दुशासनले दौपदीको वस्त्रहरण गरिरहँदा उनकै पति र देवरहरु किन टुलुटुलु हेरेर बसिरहेका होलान्?’
 
कुनै एक दिन स्कुलबाट साथीहरुसँग हाँस्दै रमाउँदै घर फर्किरहेकी थिइन् उनी। गाउँकै पूर्व प्रधानपञ्चले उनीहरुको उन्मुक्त हाँसो नियालिरहेका रहेछन्। ‘नानी हो, छोरी भएर यसरी उत्ताउलो गरी हाँस्नु हुँदैन। एउटी रानीको हाँसोकै कारण महाभारतको युद्ध भएको कुरा तिमेरलाई के थाहा?’
 
पञ्च बाको यो कुराले उनलाई धरै दिनसम्म बिथोलिइरह्यो। गाउँमा कुनै दाइभाइको झगडामा पनि दोषी तिनैका पत्नी भएको सुनिन्। कसैलाई द्रौपदीको उपमा दिएर अपमान गर्नेहरु पनि गाउँमै देख्न थालिन्।
 
अध्ययनको सिलसिलामा उनी राजधानी आइन्। यहाँ त उनले जताततै आमाले दिमागमा भरिदिएको महाभारतका पात्रहरु फुत्तफुत्त निस्किएर सामुन्ने हिँडिरहेको देख्न थालिन्। राजनीतिक परिदृश्यमा धृतराष्ट्रहरुको जगजगी उस्तै थियो। षड्यन्त्रका जाल थापेर बस्ने शकुनि पनि भेटिन्। वस्त्रहरणमा परेका द्रौपदीहरु अनि पतिमै समर्पित गान्धारीको सम्झौतालाई पनि नियालिन्। कतिसम्म भने द्रौपदीलाई उदाहरण बनाएका घटनाको साक्षी आफैं बनिन्।
 
कलियुगमा तिनै द्वापर युगका पात्रझैं लाग्ने मानिसहरु देखेर नै उनको अन्तस्करणमा एकएक गरी पत्रहरु जम्न थाले। त्यही पृष्ठभूमिले नै उनलाई उक्सायो उनलाई।
 
५२६ पृष्ठको मोटो उपन्यास 'चीरहरण' त्यही पृष्ठभूमिले सिर्जिएको मिथकीय औपन्यसिक दस्तावेज हो।
 

चीरहरणको जन्म


भनिन्छ— ‘संसारमा जे छ, महाभारतमा छ। संसारमा जे छैन त्यो महाभारतमा छैन।’
 
एक लाख श्लोक भएको महाभारतको मूल स्रोतबाट थुप्रै विधाका कृतिहरु निस्किइसकेका छन्। महाभारतको विपठन, पुनर्पठन र उत्तरपठन समेत हुन थालेका छन्। महाभारत त यस्तो मिथक हो, यसमा नलेखिएको विधा नै सायद छैन।
 
नौ वर्षदेखि अमेरिकामा रहँदै आएकी नीलमले महाभारतकै लौरो टेकेर आख्यानको यात्रा तय गर्छु भनेर योजना बनाएको त सन् २०११ तिरै हो। सन् २०१४ को एक दिन उनले महाभारतभित्रको कुनै विषयमा रहेर आख्यान लेख्ने सुर कसिन्।
 
‘झन्डै तीन वर्ष यसमाथि लेखिएका/भेटिएका पुस्तक र सन्दर्भसामग्री अध्ययन गर्दैमा बित्यो। जब लेख्न बसेँ दुई वर्ष बितेको चाहिँ पत्तै पाइन,’ उपन्यासको रचनागर्भबारे उनले खुलाइन्, ‘लेख्न सुरु गरेको दिन सरसर्ती थिम दिमागमा तयार गरेँ। पात्रहरुको नाम टिपोट गरेँ। पछि उनीहरुहरुको अलगअलग कथा तयार पारेँ र संयोजन गर्न थालेँ।’
 
सुरुमा निकै बृहत् पुस्तक तयार होला भन्ने लागेको थियो रे उनलाई। साफीका क्रममा आकार घट्नुको साटो झन् बढ्दै गएछ। पटकपटकको सम्पादनले यो अवस्थामा पुस्तक तयार भयो।
 
‘मूल कथालाई समाएर प्रतीकात्मक तरिकाले लेखूँ कि भन्ने लागेको थियो सुरुमा। फेरि त्यो जटिल बन्ला भन्ने डर लाग्यो,’ उनले भनिन्, ‘हवन (पहिले प्रकाशित उनकै कथासंग्रह) जस्तो प्रतीकात्मक होइन साधारण पाठकले बुझ्ने गरी लेख्नु भनेर भाष्करजीले सल्लाह दिनुभयो।’
 
चीरहरणमा नीलमले उठाएको मुद्दा दौपदीलाई केन्द्रमा राखेर तमाम नारी पीडाको उत्खनन गर्दै हिंसा र शोषणविरुद्ध चेतना जगाउनु हो । ‘महाभारतमा उल्लेखित नारी पात्रका नदेखिएका/नलेखिएका प्रसंगलाई मैले सक्दो उत्खनन गरेको छु,’ उनले थप प्रस्ट पारिन्।
 

माद्रीसँगसँगै दौडिइरहेँ

तीन वर्षको अध्ययन–अनुसन्धानपछि जब उनी लेख्न बसिन्। उनलाई महसुस हुन्थ्यो— म द्वापरयुगमै छु। हरेक पात्रसँगसँगै हिँडिरहिन् उनी। लेखनका बेला अरु कुनै पुस्तक पनि पढिनन्।
 
लेख्नु थियो, बस् एउटा महाभारतको नयाँ आख्यान।
 
द्रौपदीका प्रसंग लेख्दा उनको मुटु निचोरिएर आउँथ्यो। घरीघरी भने उनमा उत्साह पनि जाग्थ्यो— जब माद्रीजस्ता योद्धा पात्रहरु आउँथे। ‘साहसी वीरंगना पात्रबारे लेख्दा अलि साहस जाग्थ्यो,’ उनी सुनाउँछिन्, ‘माद्रीको प्रसंगमा त आफैं नै घोडामा दौडिइरहेको भान हुन्थ्यो।
 
'माद्री घोडा डोर्‍याएर अघि बढिन्। म उनलाई नै पछ्याइरहेकी थिएँ। केहीअघि पुगेपश्चात् प्रथम माद्री आफैं घोडामा चढिन् र मलाई हात दिइन्। म पछाडि बसेँ। माद्रीले मलाई आफ्नो कम्मरमा बलियो गरी समाउन लगाइन्। उनी जे जसो भन्थिन्, म पालना गर्थें। माद्रीले बेजोडले घोडा कुदाइन्। हाम्रो त्यो यात्रा महाराजको खोजीको थियो।' पृ. २३३
 
परिवारसँगै रहेकी उनले छोराछोरी सुताउनु, पकाउनु, खुवाउनु त छँदै थियो। घरायसी काममा व्यस्त हुँदा उनको हाउभाउ तिनै महाभारतकालीन पात्रहरुको जस्तो हुँदो रहेछ। ‘भाष्करजी र छोराछोरीसँग बोल्दा पनि म त परन्तु, पुत्र, महाराज जस्ता शब्द उच्चारण गर्न पुग्दो रहेछु,’ सम्झिँदा अहिले पनि उनी हाँस्छिन्, ‘अन्जानमै मेरो लबज र हाउभाउ तिनै पात्रजस्तो बन्दो रहेछ। म नै महाभारतको एक नारी पात्र भइसकेकी रहिछु।’
 

नयाँ के छ?



‘यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिविम्बित छ।’
 
चीरहरण उपन्यासको कभरमा राखिएको एउटा वाक्य हो यो।
 
पुस्तक बजार आइसकेपछि केही समीक्षक र टिप्पणीकर्ताहरुले सबै नारीमाथि समान रुपले खुल्न नसकेको हो कि भनेर प्रश्न पनि उठाए।
 
‘मेरो उपन्यासको आधार नै महाभारत भएकाले मूल कथालाई चटक्कै छाड्न सकिनँ। सबै पात्रलाई उत्तिकै ठाउँ दिँदा पुस्तक ज्यादै मोटो हुनेतिर पनि ध्यान दिँए,’ उनले प्रस्ट पारिन्, ‘महाभारतमा जुन रुपमा देखिएका छन् पात्रहरु, उनीहरुको अन्तर्यसम्म पुग्ने प्रयासचाहिँ गरेकी छु।’
 
उनी त महाभारतकालीन युग र हामी बाँचिरहेको यो समयमा नारीहरूको पीडा र संघर्षमा कुने बदलाव नआएको तर्क गर्छिन्।
 
‘अधिकार, आरक्षण र पुरुषसमान सहभागितामा त उल्लेख्य प्रगति भइराखेको छ नि। छैन र?’ मैले बीचैमा प्रश्न राखिदिएँ।
 
‘सामाजिक, राजनीतिक, आर्थिक परिवर्तनको प्रभावले सतहमा त्यस्तो देखिएला तर सामाजिक विवशता त द्वापरयुगभन्दा पृथक् छैन,’ तर्कबाटै उनले जवाफ दिइन्, ‘सत्यवतीदेखि द्रौपदीसम्मले भोगेको हिंसा अहिलेका नारीले भोगिरहेका छन्। झाडी, नदीनाला या जंगलमा नवशिशु फालिएका सत्य घटना समाचार बन्ने गर्दछ। यस्तो लाग्छ- बलात्कारका समाचार नआएको दिनै हुँदैन। द्रौपदीको वस्त्रहरण अनि कुन्तीको पुत्रत्यागभन्दा के भिन्नता भयो? अनि धृतराष्ट्रको राज्यमोहलाई अहिलेको राजनीतिक अवस्थासँग तुलना गर्नुस् न! मैले त यसका राज्यको चीरहणप्रति पनि संकेत गर्न खोजेकी छु।’
 
'धृतराष्ट्रजस्ता शासक सिंहासनमा आसीन हुँदासम्म वस्त्रहरण प्रकरण दाहोरिरहनु स्वाभाविक हुनेछ। धृतराष्ट्रको शासनमा द्रौपदीको मात्र होइन राज्यकै चीरहरण हुने खतरा रहनेछ। ...धृतराष्ट्रको हातमा कुनै राज्यको शासनसत्ता नपरोस्। अन्यथा राज्यकै दुर्भाग्य हुनेछ।' पृ. ५२१
 
सदियौंदेखि नारीहरु पीडामै छन्, नीलम यसलाई दाबीका साथ भन्न सक्छिन्। तर, यसको दोषी पुरुषमात्रै हो भन्न चाहँदिनन्। उनले भनेकै शब्द लिने हो भने ‘पुरुष मनोवृत्ति’मा सकारात्मक परिवर्तन नभएसम्म नारीले यस्ता हिंसाबाट गुज्रिरहनुपर्नेछ।
 
‘त्यसो भए विद्रोहमा नारीहरु किन उठ्न नसकेका? धृतराष्ट्रसँगको सम्झौतामा कैयौं कष्ट बेहोरेकी गान्धारीको आँखाको पट्टी किन खोलिदिन सक्नुभएन? द्रौपदीको वस्त्रहरणका बेला उसको हातमा किन तरबार थमाउनुभएन? माद्रीलाई सती नपठाएको भए हुने थिएन?’ एकसाथ मैले प्रश्नको गुजुल्टो नीलमकै जिम्मामा राखिदिएँ।
 
‘तपाईंले भनेझैं मैले पनि यसबारे धेरै सोचेँ। तर मिथलाई बंग्याएर विद्रोही बन्न चाहिन, मूल कथाकै मार्गमा हिँडेर द्वापर र कलियुगलाई जोड्न चाहेँ,' उनले भन्दै गइन्,' हो, गान्धारीको आँखाको पट्टी धेरैअघि खोलिदिन चाहेकी थिएँ, नबाँधिदिऊँ जस्तो पनि लागेको हो। नारी अर्थात् पत्नीले पतिको लागि गर्ने त्याग र समर्पणको त्यो नमुना म कसरी मेट्न सक्थेँ? गान्धारीले पुत्र रक्षाको निम्ति पट्टी खोलेकी थिइनन् मैले राज्यको लागि खोलिदिएकी छु। पुत्र रक्षाभन्दा पनि राज्य संरक्षण त्यो बेला महत्वपूर्ण देखेर।'
 
गान्धारीको सम्झौता हटाइदिँदा उनीप्रति न्याय हुने थिएन भन्छिन् उनी। बरु नारीका त्यस प्रकारका भावुक कदम अहलेको युगमा कति ठिक/बेठिक? बहस हुनुपर्ने उनी बताउँछिन्।
 
उनले संक्षेपमै टुंग्याइन्, ‘कतै पढेकी थिएँ— महाभारतको कथालाई तोडमोड गर्नु पनि  महापाप हो।’
 
***
नीलमले बुधबार सर्वनाम थिएटरमा कविता सुनाउने क्रममा भनेकी थिइन्— ‘म अहिले परदेशमा रहेकी छु, जीवनमा कुनै भुल गरेकी छु भने बाध्यतावश घरदेशबाट टाढा रहनुलाई मानेकी छु।’
 
मैले सोध्नै भ्याइन उनलाई, ‘बाध्यतापूर्वक विदेशमा बसेका सबै नेपालीले भुल नै गरेका छन् त?’
 
त्योभन्दा ठूलो बहस उठान गर्ने प्रश्न त उनले उपन्यासको अन्तिम पानामै गरेकी छिन्, ‘के ‘आइमाई’कै कारणले भएको थियो त त्यो महायुद्ध?’
 
कलियुगमा पनि बहस जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell