PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​रेडियोक्रेजी जोडी हिम्मत र निलम : जसलाई नेपाल र विहार सीमाक्षेत्रका लाखौँले चिन्छन्



राधेश्याम पटेल

​रेडियोक्रेजी जोडी हिम्मत र निलम : जसलाई नेपाल र विहार सीमाक्षेत्रका लाखौँले चिन्छन्

वीरगन्ज :  वीरगञ्ज-१० पानीटंकीका हिम्मत खड्की र निलम खड्कीलाई नचिन्ने नेपाल-विहार सीमा क्षेत्रका बासिन्दा कमै हुन्छन्। ५६ वर्षका हिम्मत र ५१ वर्षकी निलम दम्पतिलाई चिनाउने सेतु बनेको छ रेडियो। उनीहरु रेडियोक्रेजी जोडीका रुपमा चिनिन्छन्। 

वीरगञ्जका हरेक रेडियोमा दिनहुँ फोन गरी फर्माइस गर्ने, चिठी पठाई गीत रोज्ने र साथीभाइहरुलाई सुनाउनेमा नै उनीहरुको दैनिकी बितिरहेको हुन्छ। 

‘दैनिक कुनै न कुनै रेडियोमा नाम बजेन भने केही हराएको जस्तो भान हुन्छ, अनि पसलमा बसेको बेला फोन घुमाई हाल्छु’– हिम्मत भन्छन्। लाग्छ, उनीहरुको जीवन रेडियो बिना अधुरो छ। 

काठमाडौँ नक्सालबाट खड्की परिवार २०५६ सालमा वीरगंज बसाई सरेको हो। वीरगंज आउँदा त्यतिबेला यहाँ अहिले जस्तो कुनै एफएम रेडियो थिएन। त्यतिबेलाको एक मात्र सरकारी रेडियो रेडियो नेपालमा सांगीतिक कार्यक्रम उनीहरु  एकदमै सुन्ने गर्थे।

प्रजातन्त्रको पुनर्स्थापनापछि सरकारले लिएको खुला सञ्चार नीतिपछि वीरगञ्जमा पनि धमाधम निजी रेडियो खुल्न थाले। योसँगै उनीहरुको दैनिकीमा पनि परिवर्तन भयो। 

हिम्मतकी पत्नी निलमको पहिले उति सारो रेडियो सुन्ने सोख थिएन। तर पतिको संगतले उनी पनि रेडियोको क्रेजी बन्न पुगिन्। 

खडकी दम्पत्तीको दाम्पत्य जीवनमा तेस्रो साथीको रुपमा रेडियोले स्थान पायो। निलम बताउँछिन्– कहिल्यैकाहीँ त खाने र सुत्ने समयमा समेत रेडियोमा फोन गरी गीत फर्माइस गर्ने गर्छौ र साथीभाइहरुलाई समर्पित गर्छौ।

रातिको कार्यक्रम उनीहरु ओछयानमा झुलभित्र रेडियो राखेर फोन लगाउने र सुन्ने गर्छन्। 

उनीहरुकी १७ वर्षीया छोरी निलिसा बाआमाको घरमा रेडियो मोह देखेर कहिल्यैकाहीँ मनमनै हाँस्छिन्। कहिले चाहिँ दिक्क भएर यस्तो काम बन्द गर्न पनि दबाब दिन्छिन्।

तर बैँशदेखि लागेको बानी चटक्क कहाँ छुट्छ र? ‘आखिर यसै सोखले हाम्रो पहिचान बनाएको छ, कसरी छोडौं?’ हिम्मत छोरीलाई फकाउँछन्।
यो सोखले गर्दा खड्की दम्पत्तीको ज्ञानको दायरा फराकिलो मात्र भएको छैन, समाजमा सहजै भिजेका पनि छन्। हिन्दी, नेपाली, भोजपुरी गीत संगीत तथा गायकगायिकाहरुको नाम, उनीहरुको चलचित्र, पृष्ठभूमि, उनीहरुको जीवनमा घटेका रोचक तथा चर्चित घटनाहरु बारे पनि खडकी दम्पत्तीलाई राम्रो जानकारी छ। 

वीरगन्ज/विहार क्षेत्रको श्रोताहरुलाई समेटेर तीन वटा श्रोता क्लबहरु हाल यस क्षेत्रमा सकृय छन्। वीरगंजमा रेडियो वीरगन्ज, कान्तिपुर, इमेज, नारायणी एफएम, कालिका, थाहा एफएम, इन्द्रेणी एफएम, भोजपुरिया एफएम, तराई एफएम, विन्दास एफएम, आकाश एफएम, रेडियो समर्पण, सिमरा एफएम, आकाशवाणी एफएम, संस्कार एफएम, बादल एफएमलगायत डेढ दर्जन रेडियोहरु बज्ने गर्छन्।

नेपाल र विहारका करिब ६ सय दैनिक सकृय श्रोताहरु रहेको नेपाल विहार रेडियो श्रोता संघका अध्यक्ष हरेन्द्र यादव बताउँछन्।

​वीरगंज आसपासका चर्चित श्रोताहरुमा कौशल किशोर सर्राफ, जलिल हवारी एमडी, शत्रुघन गुप्ता, सुरुची वेगम, कुर्वान हवारी, विनोद पटेल, राज केडि, विमलेन्दु विकल, अमित गुप्ता, बबलु अन्सारीको नाम पनि चर्चित छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell