PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

​मन्त्री सिफारिश गर्न भारतमा रहेका उपप्रम निधिलाई कुर्दै देउवा, को-को बन्दैछन् मन्त्री?



रमेश वाग्ले

​मन्त्री सिफारिश गर्न भारतमा रहेका उपप्रम निधिलाई कुर्दै देउवा, को-को बन्दैछन् मन्त्री?

काठमाडौँ :  सत्ता साझेदार नेपाली कांग्रेसका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको टुङ्गो बुधबारमात्रै लाग्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख विश्वास पात्र विमलेन्द्र निधि प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका कारण उनी फर्किएपछि मात्र देउवाले मन्त्री सिफारिस गर्न लागेका हुन्। 

कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेको र यो सरकारको डिजाइन तयार पार्नेदेखि वार्ता गर्नेसम्मका सबै काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण उनलाई नै राखेर मात्र सभापति देउवाले निर्णय गर्न लागेका हुन्।

भारत भ्रमणमा रहेका निधि राजनीतिक भेटवार्ता लम्बिएका कारण मंगलबार मात्र स्वदेश फर्कन लागेका छन्। त्यही कारण आज नै हुने भनिएको मन्त्री सिफारिस पनि दुई दिन पछि सरेको हो।

कांग्रेसको तर्फबाट थप हुने मन्त्रीहरुले आगामी आठ गते मात्र सपथ लिनुहुन्छ' देउवाका सहयोगी समेत रहेका भतिजा भानु देउवाले भने, 'त्यसअघि सपथको कुनै ‌भावना छैन।' उनले नहुने कारणबारे केही बताएनन्। 

कांग्रेसमा मन्त्री बन्ने आकांक्षीहरु धेरै भए पनि अझैसम्म टुंगो लागिसकेको छैन। कांग्रेसभित्रका विभिन्न शक्ति समूहबाट मन्त्री बनाउनुपर्ने भए पनि स्वयं देउवा पक्षबाट मन्त्री बन्नेहरु र उनीहरुले पाउने मन्त्रालयका विषयमा समेत निर्णय हुन सकेको छैन। 

देउवाका तर्फबाट मन्त्री बन्ने भनिएका अर्जुननरसिंह केसीले मन्त्रालयकै विषयमा असहमति राखेर अघिल्ले पटक मन्त्रीको सपथ खाएनन्। गृह वा उपप्रधानसहितका जुन कुनै मन्त्रालय दिन देउवासँग माग गरेका केसीले त्यस्तो नभएपछि सपथ खाएनन्। 

अहिले केसीले शिक्षा मन्त्रालय लिन सहमति जनाएका छन्। 'शेरबहादुरजीसँग केही दिन अघि कुराकानी भएको थियो र बाँकी रहेका मन्त्रालयमा शिक्षा ठीकै हुन्छ भन्ने कुरा भएको छ'  केसीले भने, 'तर त्यसपछि उहाँले के सोच्नु वा निर्णय गर्नुभएको छ भन्नेबारे मलाई कुनै जानकारी छैन।' देउवाका तर्फबाट उनलाई त्यही मन्त्रालय पाउने 'कन्फरमेसन' आएको छैन।

यसअघि माओवादी केन्द्रले धनिराम पौडेललाई शिक्षा मन्त्री र धनमाया विकलाई शिक्षा राज्यमन्त्रीको शपथ ग्रहण गराउन लाग्दा कांग्रेसले सो मन्त्रालयमा दावी गरेपछि बिना विभागीय मन्त्रीका रुपमा शपथ गराइएको थियो। पौडेल र विकलाई हालसम्म पनि मन्त्रालय तोकिएको छैन। 

देउवा पक्षकै नेता बालकृष्ण खाँड रक्षामन्त्री बन्ने चर्चा चलाइएको छ। तर स्वयं खाँडले भने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दावी गरेका छन्। 'अहिलेसम्म को-को मन्त्री बन्ने भन्ने नै टुंगो लागेको छैन' खाँडले भने, 'तर मैले इच्छा गरेको मन्त्रालय पर्यटन नै हो।' उनले सभापतिसँग त्यसरी को कुन मन्त्री बन्ने भनेर छलफल नभएको बताए। 

खाँडले पर्यटन मन्त्रालय दावी गरे पनि परराष्ट्र मन्त्रालय दावी गरेका डाक्टर प्रकाशशरण महतलाई देउवाले नै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिंचाइ मन्त्रालय मध्ये छानेर लिन भनेका  छन्। नेपाल विद्यार्थी संघको महाधिवेशन विवाद मिलाउने नाममा नेतृत्व लिएका महतलाई नेतृत्व आफंनो पक्षमा पार्न सफल भएको पुरस्कारका लागि देउवाले उनलाई मन्त्रालय रोज्ने अधिकार दिएका हुन्।
 
उता नेविसंघ महाधिवेशनपछि रामचन्द्र पौडेल पक्षमा शंकाको घेरामा परेका डाक्टर शेखर कोइराला देउवाकै तर्फबाट भए पनि परराष्ट्र मन्त्रालय पाउने अवस्थामा छन्। नेपाल विद्यार्थी संघको महाधिवेशनमा पौडेल समूहका उम्मेद्वारलाई सहयोग गर्नको साटो आफ्नै उम्मेद्वार उठाएका कारण नेतृत्व देउवा पक्षमा गएका कारण उनी पौडेल समूहबाट टाढा तर देउवाको नजिक भएका छन्। 

उता शेरबहादुर देउवाले कृष्ण सिटौलालाई एक मन्त्री सिफारिस गर्न भनेका छन्। सिटौलाले दुई मन्त्री पाउनुपर्ने भने पनि देउवाले दुई दिन नसक्ने बताएकाले उनको सिफारिसमा गगन थापा, भिमसेनदास प्रधान र सुधिर सिवाकोटी मध्ये एकलाई मन्त्री बनाउने तयारी भएको छ। 

देउवाले रामचन्द्र पौडेललाई पनि आफ्नो समूहबाट मन्त्री सिफारिस गर्न भनिसकेका छन्। तर पौडेलले आफूले पाँच मन्त्रालय पाउनु पर्ने र शक्तिका मन्त्रालय विकास निर्माणका मन्त्रालय र जनसम्पर्कका मन्त्रालयहरु मिलाएर दिने भए मात्र मन्त्री लिने धम्की समेत दिइसकेका छन्। उनले मन्त्री सिफारिस गरेपछि अरुले छोडेका मन्त्रालय मात्र लिने अवस्थामा आफ्ना तर्फबाट मन्त्री सिफारिस नै नगर्ने उनले देउवालाई बताएका छन्। 

उनको पक्षबाट मन्त्री बन्ने आकांक्षी मध्ये डाक्टर शेखर कोइराला र दिपक गिरीको नाम मात्र चर्चामा रहेपनि नेविसंघ अधिवेशनका कारण शेरख कोइरालाई पौडेल समूहको विश्वास घटाएको छ। त्यो समूहले छलफल गरेर कसैको नाम प्रस्ताव गरेको छैन। त्यसैले अबका दुई दिन कांग्रेसमा शक्ति संघर्ष हुने अवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell