काठमाडौं : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत भएका मन्त्री निधिले सिंहसँग उहाँकै निवासमा भेटवार्ता गरेका हुन्।
भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका विषयमा समेत छलफल भएको छ। आजै मन्त्री निधिले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भेट गर्ने कार्यक्रम छ।
उपप्रधानमन्त्री निधिले यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गरिसकेका छन्। त्यस्तै भारतीय विपक्षी दल कँग्रेस (आई) का उपाध्यक्ष राहुल गान्धीले उपप्रधानमन्त्री निधिलाई उनी बसेको होटलमै आइतबार भेटेका थिए।
भेटवार्ता क्रममा भारतीय उच्च अधिकारीहरुले निधिलाई नेपाल सरकारले गर्न लागेको संविधान संशोधन र मधेस केन्द्रित दलका माग सम्बोधन सम्बन्धमा प्रशंसा गरेका निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिए। निधिको भारत भ्रमणपछि यही भदौ ३० गतेदेखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय भएको छ ।
नयाँ सरकार गठनपछि नेपाल सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री निधि दुई देशबीच उच्चस्तरीय भ्रमणको चाँजोपाँजो मिलाउन यही भदौ २ गते भारत प्रस्थान गरेका थिए।
आजै फर्किने कार्यक्रम भए पनि भेटघाट नसकिएकाले भोलिमात्रै उनी स्वदेश फर्कनेछन्।