PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

​लोग्नेको रिसले ४ वर्षका छोरा र ७ वर्षकी छोरी मारेर आत्महत्या



सविन ढकाल

​लोग्नेको रिसले ४ वर्षका छोरा र ७ वर्षकी छोरी मारेर आत्महत्या

काठमाडौँ : बिहान करिब ११ बजे कक्षा ३ र ४ मा पढ्ने केही विद्यार्थी कञ्चनपुरको बेलौरी नजिकैको उखुबारीको बाटो भएर जाँदै थिए। बाटो केही सुनसान नै थियो। बाटोमा केही चलेको र हल्लिएको जस्तो आवाज विद्यार्थीको कानमा पर्योज। 

उखुबारी भित्र पसेर हेर्दा सँगै पढ्ने साथी ७ वर्षकी जस्मिन चौधरी छट्पटाइरहेकी थिइन्। ‘पेट दुख्यो, प्यास लागेको छ,  रिंगटा लाग्यो, मर्न लागेँ’ कराउँदै थिइन्। 

जस्मिनलाई तत्कालै गाउँले र साथीहरुको सहयोगमा नजिकैको सेती अञ्चल अस्पताल लगियो। तर उनको सास भने  टिक्न सकेन। जस्मिनले सेती अञ्चल अस्पतालको बेडमा नै  सँधैको लागि सास फेर्न छोडिन्। 

उखुबारीमा जस्मिनमात्र होइन अलिक पर जस्मिनका ४ वर्षीय छोरा दीपेश चौधरी पनि मृत अवस्थामा थिए। त्यसको २५ मिटरपर जस्मिन र दीपेशकी २४ वर्षकी आमा बसन्ती चौधरी पनि मुखमा फिजसहित लडिरहेकी थिइन्। 

प्रहरी र छिमेकीको सहयोगमा बसन्तीलाई पनि अस्पताल पुर्यारइयो तर यो प्रयास पनि असफल भयो। घटनाको रहस्य खुल्न नपाउँदै बसन्तीले सँधैको लागि संसारबाट विदा लिइन्। घटनास्थलमा प्रहरीले भात खाएको बटुको र  विषको बट्टा बरामद गर्यो। 

बसन्ती आइतबार बिहान ६ बजे नै आफ्ना दुई छोराछोरीलाई ड्रेस लगाएर विद्यालय पुर्याएउन निस्किएकी थिइन्। उनका श्रीमान् रामलाल भने घर कुरेर बसेका थिए। बिहानी झुल्के घाममा निस्किएका छोराछोरी र श्रीमती घाम आँगन माथि आइपुग्दासमेत  नफर्किएपछि रामलाललाई बेचैन भयो। 

त्यसपछि उनी उखुबारीको बाटो हुँदै विद्यालयसम्म पुगे। हस्याङफस्याङ गरेर विद्यालय पुगेका रामलाललाई शिक्षकले आज दुई जना नै विद्यालय नआएको जानकारी गराएपछि उनी झसङ्ग भए। त्यसपछि हतार हतार गर्दै विद्यालयबाट घर फर्किँदै गर्दा उखुबारीमा श्रीमती र सन्तानहरुको त्यस्तो हालत देखेपछि उनी अचेत भएका थिए।

प्रहरीले विष सेवन गरेर अस्पतालको शैयामा छट्पटाइरहेकी बसन्तीसँग गरेको बयानमा आफुले श्रीमानसँगको रिसका कारण छोराछोरीलाई मारेर आफूले पनि विष खाएको बताएको इलाका प्रहरी कार्यलय बेल्डाँडीका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताए। 

उनका अनुसार घरेलु हिंसा र श्रीमान श्रीमतिको झगडाको कारण नै यस्तो घटना भएको हो। 

रामलाल गाउँमा नै वाइरिङको काम गर्छन्। आइतबार बिहान रामलालले आफ्नो कामको लागि छोरीको कलम प्रयोग गरेका थिए। आफ्नो कलम बाबुले प्रयोग गरेपछि छोरीले मसी सकिन्छ भन्दै मागेकी थिइन्। श्रीमतीले पनि रामलाललाई कलम किन चलाउनु भन्दै कराएकी थिइन्। यही विषयमा उनीहरुबीच सामान्य विवाद भएको थियो।

रामलालले रिसले छोरीको कपीसमेत च्यातेका थिए। रामलाल श्रीमती, दुई छोराछोरी र आमा र एक सौतेनी आमा गरी ६ जनासँगै बस्दै आएका थिए। आमाहरुको बयान अनुसार केही दिनदेखि श्रीमान श्रीमतिमा फाटफुट झगडा हुँदै आएको थियो। तर यही सामान्य झगडा नै यति ठूलो घटनाको कारण बन्न पुग्यो। (प्रतीकात्मक फोटो साभार : हफिङटन पोस्ट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell