PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने- 'ढुक्क हुनुस्, निर्वाचन समयमै हुन्छ'



पहिलोपोस्ट

आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने- 'ढुक्क हुनुस्, निर्वाचन समयमै हुन्छ'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयमै निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
 
निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले समयमै निर्वाचन गराउन सरकार गम्भीर र प्रतिबद्ध रहेको बताएका हुन्। 'संविधान कार्यान्वयन भएन भने देश र राजनीति नै दुर्घटनामा पर्न सक्छ,' उनले भने, 'त्यसैले निर्वाचनको विकल्प छैन, आयोगले पनि यही गम्भीरताका साथ काम गरोस् भन्ने सरकारको आग्रह छ।’
 
भेटमा प्रधानमन्त्रीले स्थानीय निकायको निर्वाचन नभएर सरकार संविधानको व्यवस्था बमोजिम बन्ने स्थानीय तहको निर्वाचनको गृहकार्यमा जुटेको पनि बताए। ‘स्थानीय निकायको निर्वाचन कि स्थानीय तहको निर्वाचन भन्ने अलमलमा पर्नु हुँदैन,' उनले प्रस्ट पारे, 'सरकार संविधानले निर्दिष्ट गरेको स्थानीय तहको निर्वाचनको गृहकार्यमा जुटेको छ।’

आन्दोलनरत शक्तिसँग वार्ता गरेर संविधान कार्यान्वयनको वातावरण बनाउन चाहिरहेको भन्दै उनले ऐनको मस्यौदा तयार पारेकोमा आयोगलाई धन्यवाद दिए।

राजनीतिक दलहरुबीच नयाँ समझदारी बनाउने कोसिस भइरहेको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले दलहरुबीच समझदारी भएमा आयोगले सरकारको निर्देशन अनुसार काम गर्नेमा विश्वास व्यक्त गरे।

'यहाँहरुले ६ महिनाको समय माग्नुभएको छ। त्यस्तै हुन्छ भन्ने विश्वास दिलाउन गाह्रो छ,' उनले थपे, 'जरुरी काम गर्दा कतिपय नियम निलम्बन गरेर छोटो बाटो अपनाउनुपर्ने बाध्यता पनि हुन्छ। तर, निर्वाचन जसरी पनि हुन्छ।'
 
भेटमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पनि निर्वाचनको तयारीका लागि सरकारका सबै अंगहरुले तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिए।

आयोगको कार्यालयमा भएको भेटमा निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग सरकारले निर्दिष्ट गरेबमोजिम निर्वाचन गर्न तयारी अवस्थामा रहेको जानकारी दिँदै निर्वाचनका लागि आवश्यक कानुन निर्माण र संशोधन, भौतिक पूर्वाधारको तयारी र निर्वाचनको गृहकार्यका लागि आवश्यक पर्ने समयको व्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell